

काठमाडौँ, असोज ४ गते । नेपालले भदौ महिनामा बिजुली बेचेर ५ अर्ब रुपियाँभन्दा बढी आम्दानी गरेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार भदौ महिनामा ५६ करोड ५६ लाख ६ हजार ४ सय ४३ युनिट विद्युत् भारत र बंगलादेशमा निर्यात गरी कुल ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २ सय ८२ रुपियाँ आम्दानी भएको छ।
प्राधिकरणको प्रणाली सञ्चालन विभाग (स्युचाटार) का अनुसार द्विपक्षीय सम्झौता (हरियाणा, बिहार र बंगलादेश) मार्फत ३ अर्ब ६४ करोड २५ लाख रुपियाँ बराबरको बिजुली बिक्री भएको छ। त्यस्तै, प्रतिस्पर्धी विद्युत् बजारतर्फ १४ करोड ३९ लाख युनिटभन्दा बढी बिजुली बेचेर १ अर्ब ४४ करोड ९९ लाख रुपियाँभन्दा बढी आम्दानी भएको छ।
भोटेकोशीमा आएको बाढीका कारण चिलिमे र त्रिशूली जलविद्युत् केन्द्रमा क्षति पुगेपछि हाल बंगलादेशतर्फको विद्युत् निर्यात रोकिएको छ। तर, अन्य जलविद्युत् केन्द्रबाट पुनः बिजुली निर्यात सुचारु गर्न आवश्यक स्वीकृतिका लागि भारतीय पक्षलाई अनुरोध गरिसकिएको प्राधिकरणले जनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी बाढीका कारण राष्ट्रिय उत्पादन क्षमताको करिब १० प्रतिशत प्रणाली बाहिरिएको चुनौतीपूर्ण अवस्थामा पनि बिजुली व्यापारमा सुधार आएको बताउनुभयो। गत वर्षको भदौको तुलनामा यस वर्ष बिजुली निर्यात आम्दानीमा ३८ करोड २७ लाख रुपियाँभन्दा बढी वृद्धि भएको छ।
विद्युत् निर्यात तथा आम्दानी सारसंक्षेप:
| विवरणको शीर्षक | निर्यात परिमाण (युनिट) | आम्दानी (रु.) |
| द्विपक्षीय सम्झौतातर्फ | ४२ करोड १६ लाख २१ हजार २८८ | ३ अर्ब ६४ करोड २५ लाख २८ हजार २९९ |
| विद्युत् बजारतर्फ | १४ करोड ३९ लाख ८५ हजार १५५ | १ अर्ब ४४ करोड ९९ लाख ३२ हजार ९८३ |
| कुल भदौ महिनाको निर्यात | ५६ करोड ५६ लाख ०६ हजार ४४३ | ५ अर्ब ०९ करोड २४ लाख ६१ हजार २८२ |
| गत वर्षको तुलनामा वृद्धि | – | ३८ करोड २७ लाख ३५ हजार ४३५ |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


































