09/15/2026, 09:36:34
मङ्गलबार, भदौ ३०, २०८३

सैलुनको घर्राबाट लागुऔषध ‘ब्राउन सुगर’ बरामद, ४ जना पक्राउ


दाङ, भदौ ३० गते । दाङको तुलसीपुर–११, उरहरीस्थित एक सैलुनबाट प्रहरीले १६ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर बरामद गर्दै सञ्चालकसहित चार जनालाई पक्राउ गरेको छ।

१९ वर्षीय दीपक विकले सञ्चालन गर्दै आएको सैलुनमा लागुऔषधको अवैध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी जस्पुरको संयुक्त टोलीले खानतलासी गर्दा उक्त पदार्थ भेटिएको हो।

प्रहरीले खानतलासीका क्रममा स्थानीय राजन केसीको शरीरबाट ३ ग्राम १४० मिलिग्राम र सैलुनको घर्रामा लुकाएर राखिएको १३ ग्राम ३३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ। सैलुन सञ्चालक विक र केसीसहित आकाश चौधरी र ध्यानी बाँठामगरलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार जिल्लामा पछिल्लो समय लागुऔषध नियन्त्रणका लागि निगरानी कडा पारिएको छ। साउन महिनामा मात्रै दाङ प्रहरीले विभिन्न स्थानबाट ११ ग्रामभन्दा बढी ब्राउन सुगर, ३५ किलो चरेस र १४० थान मनोद्दीपक ट्याब्लेटसहित १९ जनालाई पक्राउ गरिसकेको छ।

विवरण / पक्षतथ्याङ्क तथा मुख्य जानकारी
घटना स्थलउरहरी, तुलसीपुर-११, दाङ (सैलुन)
बरामद लागुऔषध१६ ग्राम ४७० मिलिग्राम (ब्राउन सुगर)
पक्राउ पर्ने व्यक्तिहरूदीपक विक (सञ्चालक), राजन केसी, आकाश चौधरी, ध्यानी बाँठामगर
दाङमा साउन महिनाको कारबाही११.९३ ग्राम ब्राउन सुगर (१५ पक्राउ), ३५ केजी चरेस (१ पक्राउ), १४० थान ट्याब्लेट (३ पक्राउ)