09/10/2026, 21:07:09
बिहिबार, भदौ २५, २०८३

भोटेकोशी बाढी पीडितहरूको पुनःस्थापना कार्य सुरु भइसकेको छ: सञ्चारमन्त्री डा. तिमिल्सिना


नुवाकोट, भदौ २५ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी पीडितहरूको पुनःस्थापना कार्य सुरु भइसकेको जानकारी दिनुभएको छ। गोरखापत्रसँगको कुराकानीमा मन्त्री तिमिल्सिनाले बाढी प्रभावित जिल्लाका सबै नागरिकलाई स्थायी व्यवस्थापन नभएसम्मका लागि पुनर्स्थापना गरिने स्पष्ट पार्नुभयो।

भौतिक पूर्वाधार मन्त्रालयले बाढी प्रभावित पालिकाहरूलाई मानवीय र भौतिक क्षतिको विस्तृत विवरण फाराम भरेर पठाउन निर्देशन दिइसकेको छ। पीडितहरूलाई अस्थायी क्षेत्रमा बसोबास गर्ने वा आर्थिक प्याकेज लिएर आफैँ व्यवस्थापन गर्ने विकल्प दिइएको छ भने स्थायी बसोबासका लागि स्थानीय जनप्रतिनिधिसँग छलफल गरी उपयुक्त क्षेत्रको खोजी भइरहेको छ।

बाढीले ठुलो जनधनको क्षति पुर्याएकाले प्रभावित परिवारलाई मनोपरामर्श दिँदै हाल होल्डिङ सेन्टरमा राखिएको छ। साथै, बाढीपछि फैलिन सक्ने सम्भावित महामारीलाई ध्यानमा राख्दै आवश्यक स्वास्थ्य सचेतना र सतर्कता अपनाइएको सञ्चारमन्त्री तिमिल्सिनाले बताउनुभयो।