09/10/2026, 21:08:35
बिहिबार, भदौ २५, २०८३

सन् २१०० सम्म अष्ट्रेलियाका २ लाख ५० हजारभन्दा बढी घर जोखिममा: गैरसरकारी संस्था क्लाइमेट काउन्सिलको प्रतिवेदन


क्यानबेरा, भदौ २५ गते । बढ्दो समुद्री सतह र आँधीबेहरीका कारण सन् २१०० सम्ममा अष्ट्रेलियाका दुई लाख ५० हजारभन्दा बढी तटीय घरहरू बाढीको उच्च जोखिममा पर्ने देखिएको छ। गैरसरकारी संस्था ‘क्लाइमेट काउन्सिल‘ ले जारी गरेको प्रतिवेदन अनुसार २१ औँ शताब्दीमा यस विपत्तिले अष्ट्रेलियाली अर्थतन्त्रमा करिब ८ खरब ५५ अरब अष्ट्रेलियन डलर बराबरको क्षति पुर्याउने अनुमान गरिएको छ।

प्रतिवेदनले २ लाख ६७ हजार तटीय घर, २ लाख हेक्टर भूमि र उत्तरी क्षेत्रका महत्त्वपूर्ण पूर्वाधारहरू सङ्कटमा पर्ने औँल्याएको छ। मौसम विज्ञान ब्यूरोका जलवायु पूर्वानुमानका पूर्वप्रमुख तथा प्रतिवेदनका सह-लेखक एन्ड्र्यू वाटकिन्सका अनुसार अहिले वर्षमा एक पटक देखिने चरम समुद्री सतह सन् २०९० सम्ममा मासिक रूपमा देखिन थाल्नेछ, जसको क्षति मर्मत गर्न असम्भव प्रायः हुनेछ।

सबैभन्दा बढी सम्पत्ति क्षतिको जोखिम उत्तरपूर्वी राज्य क्विन्सल्यान्डमा छ भने पश्चिमी अष्ट्रेलियामा भूमिको ठूलो हिस्सा र आर्थिक घाटा हुने देखिएको छ। जलवायु प्रदूषणलाई तत्काल नियन्त्रण गर्न र तटीय क्षेत्रका समुदायहरूलाई पूर्वतयारीमा जुटाउन राजनीतिक नेतृत्वले ठोस कदम चाल्नुपर्नेमा वैज्ञानिकहरूले जोड दिएका छन्।