09/08/2026, 16:09:04
मङ्गलबार, भदौ २३, २०८३

गैरकानुनी रूपमा बस्दै आएका ठमेलका होटलहरूबाट १० बङ्गलादेशी नागरिक पक्राउ


काठमाडौँ, भदौ २३ गते । काठमाडौँको ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा संलग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका-२६ स्थित विभिन्न होटल तथा गेष्टहाउसबाट उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो।

पक्राउ पर्नेहरूमा बङ्गलादेशको गाजीपुर घर भई ठमेल बस्दै आएका ४६ वर्षीय फहिमा अक्तार हसन, ४८ वर्षीय महामुद, ४५ वर्षीय महबूब हसन, ४९ वर्षीय रेपोन मेहमूद, ३० वर्षीय एमडी-केरामोत अलीखान, ३० वर्षीय साहिदुर रहमान, ५० वर्षीय एमडी खलिलुर रहमान, २८ वर्षीय आरिफुर रहमान, ४२ वर्षीय एमडी मारुफ मृधा र ६४ वर्षीय मोहम्मद हनिफ मियाँ रहेका छन्।

विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई ठमेलस्थित होटल ढाका एक्सप्रेस, होटल डि भेढा र होटल अलरहमान लगायतका स्थानहरूबाट नियन्त्रणमा लिएको हो।

नेपालमा बिनाभिसा वा तोकिएको अवधिभन्दा बढी गैरकानुनी रूपमा बसेर शङ्कास्पद गतिविधि गरिरहेको पाइएपछि पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि अध्यागमन विभाग पठाइएको प्रहरीले जनाएको छ।