

काठमाडौँ, भदौ २२ गते । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आगामी २४ घण्टामा अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भू–भागका केही स्थान तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले पूर्वानुमान गरेको छ।
राति पनि वर्षाको सम्भावना
आज राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
देशका पहाडी तथा तराई भू–भागका केही स्थानमा समेत मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
मनसुनी वायुको प्रभाव
मौसम विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ। साथै, उत्तर प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको विभागले जनाएको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन तथा वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमबाट जोगिन विभागले आग्रह गरेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

































