

काठमाडौँ, भदौ १९ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावित तथा रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुत्केरी, बालबालिका र परिवार गुमाएका व्यक्तिहरूको समाचार सम्प्रेषण गर्दा मानवीय मर्यादा, गोपनीयता र सुरक्षाको पूर्ण सम्मान गर्न सञ्चारमाध्यम तथा पत्रकारहरूलाई आग्रह गर्नुभएको छ।
उहाँले सम्बन्धित निकायसँग समन्वय नगरी होल्डिङ सेन्टरमा प्रवेश नगर्न, सहमतिबिना व्यक्तिगत विवरण वा तस्बिर/भिडियो सार्वजनिक नगर्न र एआईबाट सिर्जित भ्रामक तथा बीभत्स दृश्यहरू सामाजिक सञ्जालमा पोस्ट नगर्न विशेष अनुरोध गर्नुभएको छ। साथै, सूचना सम्प्रेषण गर्दा गृह मन्त्रालय तथा स्थानीय प्रशासनजस्ता आधिकारिक स्रोतलाई मात्र प्राथमिकता दिन भनिएको छ।
यसैबिच, प्रेस काउन्सिल नेपालले पनि बाढी प्रभावित बालबालिकाको असहाय अवस्था देखिने वा पहिचान खुल्ने तस्बिर/भिडियो सार्वजनिक नगर्न ध्यानाकर्षण गराएको छ। काउन्सिलका अनुसार यस्ता सामग्री सम्प्रेषण गर्नु बालमैत्री सञ्चार निर्देशिका, २०७३ को मर्मविपरीत हुने र यसले बालबालिकामा नकारात्मक मनोवैज्ञानिक असर पार्नेछ। आचारसंहिता विपरीत सामग्री सम्प्रेषण गर्ने सञ्चारमाध्यम र सामाजिक सञ्जालमाथि निगरानी बढाएर कारबाही प्रक्रिया अघि बढाइएको काउन्सिलले जनाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

























