08/24/2026, 09:58:45
सोमबार, भदौ ०८, २०८३

बागमतीका मुख्यमन्त्री थापा मगरलाई विश्वासको मत दिन नेकपाको ह्विप


मकवानपुर, भदौ ८ गते। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेश संसदीय दलले प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको पक्षमा अनिवार्य मतदान गर्न आफ्ना प्रदेश सभा सदस्यहरूलाई ह्विप जारी गरेको छ। सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको १८औँ बैठकमा अनिवार्य उपस्थित भई विश्वासको मतको पक्षमा मतदान गर्न संसदीय दलका नेता शालिकराम जम्कट्टेलको निर्देशन अनुसार प्रमुख सचेतक रत्नप्रसाद ढकालले ह्विप जारी गर्नुभएको हो।

गत भदौ ३ गते नेकपा, नेकपा (एमाले) र राप्रपाको समर्थनमा एमालेका थापा मगरले मुख्यमन्त्रीको दाबी पेस गर्नुभएको थियो। सोही दाबीका आधारमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले भदौ ४ गते उहाँलाई बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरी पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो।

नेपालको संविधानको धारा १८८ (४) र बागमती प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्री थापा मगरले सोमबारको बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ। बागमती प्रदेश सभामा नेकपाका कुल २६ जना प्रदेश सभा सदस्य रहेका छन्।