08/23/2026, 11:31:50
आइतबार, भदौ ०७, २०८३

५०० दिनभित्र भूमिहीन समस्या समाधान गर्ने मन्त्री रावलको दाबी


टीकापुर, भदौ ७ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले कैलालीको टीकापुरस्थित एकतानगर सुकुम्वासी बस्तीमा पुगेर भूमिहीनलाई हटाउन लागिएको भन्ने हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पार्नुभएको छ। सरकार ५०० दिनभित्र सबै भूमिहीनको समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताउँदै उहाँले नागरिकलाई नआत्तिन र त्रासको वातावरण सिर्जना नगर्न आग्रह गर्नुभयो। सुकुम्बासीहरूले बसेकै ठाउँमा लालपुर्जा पाउनुपर्ने मागसहित ज्ञापनपत्र बुझाएका थिए।

टीकापुरमा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी १० हजार ६२९ परिवारले फाराम भरेका छन्। तर, स्थानीय स्तरमा जग्गा नापजाँचको काम सोचे अनुसार अगाडि नबढेको भन्दै मन्त्री रावलले असन्तुष्टि व्यक्त गर्नुभएको छ। टीकापुर नगर विकास समिति तथा शैक्षिक संस्थाहरूको नाममा रहेको जग्गाको स्वामित्वसम्बन्धी जटिलताका कारण जग्गा वितरण प्रक्रिया अन्योलग्रस्त र चुनौतीपूर्ण बनेको छ।

स्थानीय प्रतिनिधि तथा कर्मचारीहरूका अनुसार टीकापुरको भूमिसम्बन्धी समस्या देशभरको भन्दा भिन्न र जटिल रहेकाले सङ्घीय सरकारले विशेष नीतिगत निर्णय लिनुपर्ने आवश्यकता छ। कानुनी अड्चन फुकाउन सङ्घीय सरकार, स्थानीय तह र आयोगबिच समन्वय गरी निष्पक्ष रूपमा भूमिहीनहरूलाई लालपुर्जा उपलब्ध गराउने मन्त्री रावलले प्रतिबद्धता जनाउनुभएको छ।