08/23/2026, 09:37:52
आइतबार, भदौ ०७, २०८३

सहरी क्षेत्रमा बढ्दो सवारी साधन, ट्राफिक जाम र वायुप्रदूषण: चोक सुधार र ‘कार फ्री जोन’ को प्रस्ताव


काठमाडौँ, भदौ ७ गते । सहरी क्षेत्रमा तीव्र रूपमा बढ्दै गएको सवारीसाधनको सङ्ख्याका कारण ट्राफिक जाम र वायुप्रदूषण मुख्य चुनौतीका रूपमा देखा परेका छन्। काठमाडौँ उपत्यका लगायत ठुला सहरहरूमा वायु गुणस्तर सूचकाङ्क (AQI) हानिकारक तहमा पुगेको छ भने दैनिक घन्टौँ जाममा पर्नुपर्ने बाध्यताले नागरिकको स्वास्थ्य र समय दुवैमा गम्भीर असर पारिरहेको छ।

विशेषज्ञहरूका अनुसार सडकको लम्बाइ र चौडाइ बढाएर मात्रै ट्राफिक जाम समाधान नहुने भएकाले व्यस्त चोकहरूको सुधार पहिलो प्राथमिकता हुनुपर्छ। नयाँ बानेश्वर जस्ता मुख्य चोकहरूमा ‘अन्डरपास‘ वा ‘ओभरपास‘ निर्माण गर्दा जामका साथै सवारी साधनबाट हुने प्रदूषणमा उल्लेख्य कमी आउने सडक विभागका पूर्वमहानिर्देशक इन्जिनियर नरेश शाक्यको भनाइ छ। साथै, निजी सवारी साधनको खरिदमा नियन्त्रण गरी सार्वजनिक यातायातलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइएको छ।

काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सुधार्न जाइका र मन्त्रालयको गुरुयोजना अनुसार वसन्तपुर, ठमेल र पाटन दरबार स्क्वायर जस्ता ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रलाई ‘कार फ्री जोन‘ बनाउने र ५८ किलोमिटर सडकमा साइकल लेन निर्माण गर्ने प्रस्ताव गरिएको छ।

नेपालमा पर्याप्त सडक पूर्वाधार भए पनि सवारी साधन सहरकेन्द्रित भएकाले समानुपातिक वितरण र पूर्वाधार सुधारबाट यस समस्याको दीर्घकालीन समाधान निकाल्न सकिने देखिन्छ।