

हेटौँडा, भदौ ६ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिने पूर्वधारित मिति संशोधन गरिएको छ। प्रदेशसभा सचिवालयका अनुसार यसअघि भदौ ७ गते आइतबारका लागि बोलाइएको बैठक अब भदौ ८ गते सोमबार दिउँसो १ बजे बस्ने गरी तय गरिएको छ। प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम उपसभामुखले उक्त बैठकको मिति र समय संशोधन गर्नुभएको हो।
भदौ ८ गते बस्ने आठौँ अधिवेशनको १८ औँ बैठकमा मुख्यमन्त्री थापा मगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावलीको नियम १४३ अनुसार विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी गर्नुभएको छ। मुख्यमन्त्रीमा नियुक्त भएपश्चात् संवैधानिक व्यवस्था अनुसार प्रदेशसभाबाट अनिवार्य रूपमा विश्वासको मत लिनुपर्ने प्रावधान रहेकाले यो प्रस्ताव पेस गर्न लागिएको हो।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको वर्तमान सरकारले तोकिएको समयसीमाभित्र प्रदेशसभाको विश्वास जित्नुपर्ने संवैधानिक दायित्व रहेको छ। बैठकको मिति संशोधन भएसँगै प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले सोही अनुसार आ-आफ्नो तयारी र आन्तरिक छलफल तीव्र बनाएका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




























