08/21/2026, 07:53:15
शुक्रबार, भदौ ०५, २०८३

लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य रोगको जोखिम कायमै, नियन्त्रण चुनौतीपूर्ण


काठमाडौँ, भदौ ५ गते । नेपालमा जलवायु परिवर्तन, बढ्दो सहरीकरण र मानिसको आवत-जावतका कारण लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य रोगहरूको जोखिम तीव्र रूपमा बढेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्ला वर्षहरूमा डेङ्गु, मलेरिया, जापानिज इन्सेफ्लाइटिस र हात्तीपाइले जस्ता गम्भीर रोगहरू नियन्त्रण गर्न ठूलो चुनौती थपिएको छ।

विशेष गरी एडिज जातको लामखुट्टेबाट सर्ने डेङ्गु अहिले तराईबाट पहाडी तथा सहरी क्षेत्रसम्म फैलिसकेको छ। यसको नियन्त्रणका लागि स्वास्थ्य विज्ञहरूले घर र समुदायस्तरमा ‘खोज र नष्ट गर‘ (Search and Destroy) अभियान चलाउन जोड दिएका छन्। एनोफिलिज लामखुट्टेबाट सर्ने मलेरिया र बालबालिकामा बढी देखिने जापानिज इन्सेफ्लाइटिसबाट बच्न पूर्वतयारी र खोप कार्यक्रमलाई निरन्तरता दिइएको छ।

कीटजन्य रोगबाट जोगिन आफ्नो घरवरिपरि पानी जम्न नदिने, गमला, ट्याङ्की र पुराना टायर नियमित सफा राख्ने तथा लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउनु अत्यावश्यक छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार लामखुट्टेका कारण विश्वभर बर्सेनि लाखौँ मानिस प्रभावित हुने भएकाले समयमै व्यक्तिगत र सामुदायिक सचेतनावृद्धि नै यसको उत्तम रोकथाम हो।