08/12/2026, 16:17:37
बुधबार, साउन २७, २०८३

बडीमालिका मेला भदौ १ गतेदेखि नै : भीड नियन्त्रणका लागि पहिल्यै पूजा सुरु गरिने


बाजुरा, साउन २७ गते । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बाजुरास्थित बडीमालिका मन्दिरमा यस वर्षको मेला तथा पूजा भदौ १ गतेदेखि सुरु हुने भएको छ। दर्शनार्थीको बढ्दो चापलाई ध्यानमा राख्दै मुख्य पूजाको दिनअघि नै मेला सुरु गर्ने निर्णय गरिएको हो। हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन (साउन शुक्ल चतुर्दशी) मुख्य पूजा हुने परम्परा अनुसार यस वर्ष भदौ १२ गते जनैपूर्णिमा परेकाले भदौ ११ गते बडीमालिकामा मुख्य पूजा आयोजना हुनेछ।

गत वर्ष करिब ४५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेको यस मन्दिरमा नेपाली सेनाले प्यागोडा शैलीमा नयाँ मन्दिर निर्माण गरेपछि यस वर्ष दर्शनार्थीको सङ्ख्या थप बढ्ने अनुमान गरिएको छ। मेलालाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन जिल्ला प्रशासन, स्थानीय तह र सुरक्षा निकायले १४ बुँदे निर्णयसहित तयारी तीव्र पारेका छन्। धार्मिक क्षेत्रको पवित्रता कायम राख्न मन्दिर जाने मार्गमा सङ्केत चिह्नहरू राख्नुका साथै मदिरा, लागुपदार्थ र मासुजन्य वस्तु पूर्ण रूपमा निषेध गरिएको छ।

समुद्री सतहबाट करिब ४,२०० मिटर उचाइमा रहेको बडीमालिकामा पुग्ने भक्तजनहरूमा लेक लाग्ने (Altitude Sickness) वा अन्य स्वास्थ्य समस्या आएमा तत्काल आपत्कालीन उद्धारको व्यवस्था मिलाइएको छ। नेपाली सेना, जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयको समन्वयमा स्वास्थ्य टोली खटाइनेछ। साथै, दर्शनार्थीहरूको सहजताका लागि मेला अगावै नेपाल टेलिकमको टावर सञ्चालनमा ल्याउने तयारीसमेत भइरहेको छ।