

काठमाडौं – अविरल वर्षा, पहिरो, बाढी र नदीले कटान गर्दा देशका दर्जनौं जिल्लाका प्रमुख सडक तथा राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। साउन १८ गते (सोमबार) दिउँसो ३ बजेसम्म प्राप्त विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, ललितपुर, इलाम, ताप्लेजुङ, सिन्धुपाल्चोक, दोलखा, रसुवा, लमजुङ र चितवनका १० भन्दा बढी सडक खण्ड यातायातका लागि पूर्णरूपमा बन्द भएका छन्।
विपी राजमार्ग (काभ्रे/सिन्धुली) :
खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सबै सवारी साधनको आवतजावतमा रोक लगाइएको छ। राति ६ बजेदेखि बिहान ४ बजेसम्म पूर्ण रूपमा बन्द गरिएको यो मार्ग बिहान ४ देखि बेलुका ६ बजेसम्म भने सुचारु हुने व्यवस्था गरिएको छ।
कान्ति लोकपथ (मकवानपुर/ललितपुर) :
मकवानपुरमा वर्षातका कारण रातिको समयमा (बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म) सबै सवारी साधनमा रोक लगाइएको छ। त्यस्तै, ललितपुरको बाग्मती गाउँपालिका–३ पाङदुर र भालुखोला स्थित कान्तिलोकपथ सडक खण्डमा पहिरो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ।
अरनिको राजमार्ग (सिन्धुपाल्चोक) :
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र गाउँपालिका–२ कोदारी स्थित अरनिको राजमार्गको दुई स्थानमा छुट्टाछुट्टै पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
मेची राजमार्ग (इलाम/ताप्लेजुङ) :
इलामको राजदुवाली र ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका–१ मा मेची राजमार्ग वर्षाका कारण हिलो भई पूर्णरूपमा अवरुद्ध भएको छ। इलाम खण्डमा भने वैकल्पिक बाटो रहेको जनाइएको छ।
अन्य प्रमुख सडकहरू :
– लामासाघु–रामेछाप राजमार्ग (दोलखा) : तामाकोशी गाउँपालिका–५ किर्नेटारमा सामाकोशी खोलाले कटान गर्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ। खिम्ती ग्रामीण विद्युत सहकारीको परिसरबाट वैकल्पिक बाटो खुलाइएको छ।
– पासाङ ल्हामु सडक (रसुवा) : उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशुली नदीले सडक मुनिबाट कटान गरी पूर्ण रूपमा अवरुद्ध पारेको छ।
– बेसिशहर–मनाङ सडक (लमजुङ) : मर्स्याङदी गाउँपालिका–४ रामबजार नजिकै तारेभिरमा पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ।
– मुग्लिङ–नारायणगढ सडक (चितवन) : इच्छाकामना गाउँपालिका–५ मुग्लिङको सार्वजनिक शौचालय नजिकै पहिरो खसेर यो जोडिएको सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।
यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन, रात्रिकालीन यात्रा नगर्न र वैकल्पिक मार्गको जानकारी लिन सुरक्षा निकायले आग्रह गरेको छ। अवरुद्ध सडक खुलाउन प्रहरी र सशस्त्र प्रहरीका टोली घटनास्थलमा खटिएका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!























