

सिन्धुली / काठमाडौं – मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा सोमबार बिहान भएको भीषण सडक दुर्घटनामा यात्रुसहितको कार सुनकोशी नदीमा बेपत्ता भएको छ। कारभित्र ४ जना यात्रु रहेको प्रहरीले पुष्टि गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको यात्रुबाहक बसले बिहान करिब ११:३० बजे कारलाई ठक्कर दिँदा कार सडकबाट करिब १५० मिटर तल सुनकोशी नदीमा खसेको हो। ठक्करको जोरले कार नदीको बहावमा बगाएको आशंका गरिएको छ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक बिजय श्रेष्ठले जानकारी दिनुभयो। उहाँले घटनास्थलमा प्रहरी टोली पुगिसकेको र बेपत्ता यात्रु तथा कारको खोजीलाई तीव्रता दिइएको बताउनुभयो।
तर, सुनकोशी नदीमा हाल बाढी आइरहेकाले खोजी तथा उद्धार कार्यमा समस्या भएको प्रहरीले जनाएको छ। नदीको बहाव तीव्र रहेकाले गोताखोरलाई पनि चुनौती थपिएको छ।
बेपत्ता यात्रु तथा कारको उद्धारका लागि आवश्यक उपकरणसहित सशस्त्र प्रहरी बलको बेस क्याम्प खुर्कोटबाट गोताखोर टोली, नेपाल प्रहरी र अन्य सुरक्षा निकाय घटनास्थलमा खटिएर खोजी तथा उद्धार कार्यमा जुटेका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिनुभयो। उहाँले सबै सुरक्षा निकाय समन्वयात्मक ढङ्गले उद्धार प्रयासमा लागिपरेको बताउनुभयो।
दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान थालेको छ। घटनाको थप विवरण आउने क्रममा रहेको प्रशासनले जनाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




























