07/31/2026, 09:15:12
शुक्रबार, साउन १५, २०८३

सङ्घीयता अझै सुदृढ हुनु पर्छ : अध्यक्ष दाहाल


काठमाडौँ, साउन १५ गते । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्थानीय तहलाई गैरदलीय बनाउने बहसप्रति असन्तुष्टी व्यक्त गर्नुभएको छ । उहाँले यसले सङ्घीय संरचना कमजोर बनाउने दाबी गर्नुभयो ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा बिहीबार आफ्नो धारणा राख्दै सभाका अध्यक्ष दाहालले स्थानीय तह निर्वाचन गैरदलीय हुन नहुने जिकिर गर्नुभयो । संविधानले सङ्घीय संसद् दुई सदनात्मक हुने व्यवस्था गरेको छ । सो व्यवस्थाबमोजिम जनताबाट प्रत्यक्ष निर्वाचित सदस्यले तल्लो सदन प्रतिनिधि सभामा प्रतिनिधित्व गर्छन् ।

स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष तथा नगरप्रमुख र उपप्रमुख तथा प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलले राष्ट्रिय सभाको सदस्य निर्वाचित गर्छ । स्थानीय तह निर्दलीय हुने भएमा सोको प्रभाव राष्ट्रिय सभाको निर्वाचनमा समेत पर्ने छ । उहाँले भन्नुभयो, “संसारका कुनै पनि लोकतान्त्रिक मुलुकमा निर्दलीय प्रणाली प्रभावकारी अभ्यास भएको छैन । सङ्घीय शासनव्यवस्थालाई थप सुदृढ बनाउने गरी संविधान संशोधन गरिनु पर्छ ।

समितिले ‘विधायिकी अन्तरसम्बन्ध : नेपालमा अभ्यास, आवश्यकता र चुनौती’ विषयमा राखेको अभिमुखीकरण कार्यक्रममा सभाका अध्यक्ष दाहालले सङ्घीयतालाई अझै सुदृढ बनाउनुपर्ने बेला स्थानीय तहलाई निर्दलीय बनाउने बहस चलाउनु उपयुक्त नभएको तर्क गर्नुभयो । उहाँले सङ्घीयता खारेज गर्ने वा सङ्घीयता सबलीकरण गर्ने विषयमा गम्भीर बहस हुनुपर्ने बताउनुभयो ।

संविधानको समीक्षा गरेर सङ्घीय शासनव्यवस्थालाई थप सुदृढ बनाउने गरी संविधान संशोधन हुनुपर्ने उहाँले धारणा राख्नुभयो । सभाका अध्यक्ष दाहालले स्थानीय तह, प्रदेश र सङ्घको बजेट बाँडफाँटको समस्या समाधान गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । कुनै व्यक्तिले आफूलाई मन लागेको बोलेर सुशासन स्थापना नहुने उहाँले टिप्पणी गर्नुभयो ।