५५ सेकेण्ड अगाडी


काठमाडौं, १३ साउन २०८३ – सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटना र त्यसपछि उत्पन्न तनावपूर्ण अवस्थाबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज बिहान सर्वदलीय बैठक बोलाएका छन्।
सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बिहान ८ बजेदेखि सुरु भएको बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको सहभागिता रहेको छ।
बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउत, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरू सहभागी छन्।
त्यसैगरी, अर्थमन्त्री स्वर्णिम वाग्ले, नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, रास्वपाका उपनेता गणेश पराजुली, महामन्त्री विपिनकुमार आचार्य, राप्रपाका प्रमुख सचेतक खुश्बु ओली, श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईलगायत नेताहरू पनि बैठकमा उपस्थित छन्।
तर, सरकारको नेतृत्वकर्ता दल रास्वपाकै आह्वानमा भएको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङ भने अनुपस्थित रहेका छन्। सुनसरी घटनापछि सरकारको आलोचना भइरहेका बेला सोही विषयमा छलफल गर्न बसेको बैठकमा सरकारका तर्फबाट मुख्य जिम्मेवार मन्त्रीहरूको उपस्थिति नहुनुले प्रश्न उठेको छ।
सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा आइतबार राति भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए। घटनापछि तराई–मधेशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ र सुनसरीको विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।
रास्वपाका महामन्त्री विपिन आचार्यले अत्यन्तै संवेदनशील र दुःखद घटना तथा त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम गर्न राजनीतिक तहबाट साझा सन्देश आवश्यक भएकाले सर्वदलीय छलफल आयोजना गरिएको बताए।
बैठकपछि नेपाली कांग्रेसका सभापति गगन थापाले भने, “यो बेलामा निभाउनुपर्ने भूमिकाबारे जानकारी गराएका छौँ। अरू दलका नेताहरूले पनि सोही कुरा राख्नुभएको छ। धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको अन्तर्निहित शक्ति हो, यो कसैले वरदान दिएको होइन।”
यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै एक विज्ञप्ति जारी गरेको छ। “नेपाल सरकार सबै सम्बद्ध पक्षलाई नेपाली समाजले शताब्दीयौंदेखि अभ्यास गर्दै आएको धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भावमा विघटन पुग्ने क्रियाकलाप नगर्न, उत्तेजनात्मक वा भ्रामक सूचना नफैलाउन र यस्तो गलत सूचनाबाट प्रभावित नभई अत्यधिक संयमता अपनाउन हार्दिक आग्रह गर्दछ,” विज्ञप्तिमा भनिएको छ।
बैठकले सुनसरी घटनाप्रति साझा धारणा बनाउने र सामाजिक सद्भाव कायम गर्न आवश्यक पहल गर्ने विश्वास गरिएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


































