07/26/2026, 10:32:10
आइतबार, साउन १०, २०८३

झोलुंगे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज, बनायो अन्तर्राष्ट्रिय सम्बन्धको ‘सेतु’


धनगढी, साउन १० गते । कैलालीमा नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा झोलुङ्गे पुल बनेपछि दुवै देशका सीमावर्ती बासिन्दाको आवतजावत सहज बनेको छ। कैलारी गाउँपालिका–७ स्थित मोहना नदीमा रहेको यो पुल नेपाल र भारतका नागरिकबीचको सम्बन्ध जोड्ने बलियो ‘सेतु‘ साबित भएको छ।

नेपाल सरकारको रु. ७५ लाख लागतमा २०७९ सालमा निर्माण सम्पन्न भएको यस पुलले हौसलपुरका नेपाली मात्र नभई भारतका बेलापरसुआ, गोलबोझी, बेलरायाँलगायत गाउँका बासिन्दाको यात्रा सहज बनाएको छ। पुल बनेपछि हिउँद र बर्खामा डुङ्गाको भर पर्नुपर्ने जोखिमपूर्ण अवस्थाको अन्त्य भएको छ।

पुल निर्माणपछि हौसलपुरवासीलाई गाउँपालिका तथा वडा कार्यालयसम्म ओहोरदोहोर गर्न सहज हुनुका साथै बेलापरसुआ, गोलबोझी, बेलरायाँलगायतका भारतीय गाउँका स्थानीयलाई पनि नेपाल आउजाउ गर्न सजिलो भएको छ।

भारतका सीमित गाउँमा रहेका कठरिया थारू समुदायको विवाह नेपाली केटाकेटीसँग हुँदै आएकाले दुवैतिरका कठरिया थारूले ‘रोटी बेटी’ को सम्बन्ध राख्दै आएका छन्। यसका साथै कुलपूजा वा अन्य धार्मिक कार्यका लागि भारतीय कठरिया समुदायका व्यक्तिहरू हरेक वर्ष कैलारी गाउँपालिका–१ स्थित वनदेवी मन्दिरमा आउने गर्छन्।

यसैबीच, झोलुङ्गे पुलदेखि हुलाकी राजमार्गसम्म पुग्ने बाटो ग्राभेल गरिदिन र नजिकका गाउँसम्म पुग्दा लाग्ने भन्सार शुल्क तिर्न अनलाइन प्रणालीको व्यवस्था गरिदिन भारतीय तथा नेपाली नागरिकले नेपाल सरकारसँग आग्रह गरेका छन्।