07/21/2026, 18:10:17
मङ्गलबार, साउन ०५, २०८३

नेपालको विश्वकप यात्राका लागि निर्णायक ट्राई–सिरिज सुरु, नामिबियासँग पहिलो खेल


काठमाडौं – आगामी वर्षको आईसीसी पुरुष क्रिकेट विश्वकपमा स्थान बनाउने नेपालको महत्वाकांक्षी यात्राका लागि अत्यन्तै महत्वपूर्ण त्रिकोणात्मक सिरिज आजदेखि सुरु भएको छ। सोमबार (साउन ५ गते) देखि नेदरल्यान्ड्सको स्पोर्टपार्क मार्सचलकेर्वीड, युट्रेक्ट मा सुरु भएको यस सिरिजमा नेपाल, नामिबिया र आयोजक नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ।

हाल आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अंकतालिकामा पाँचौं स्थानमा रहेको नेपालका लागि यो सिरिज अत्यन्तै निर्णायक छ। लिग–२ को अंकतालिकाको शीर्ष चार टोली मात्र आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्रतियोगितामा स्थान पक्का गर्न पाउनेछन्। नेपालले घरेलु मैदानमा भएको अघिल्लो दुई त्रिकोणात्मक सिरिजमा आठ खेलमा छ जित निकाल्दै सातौं स्थानबाट पाँचौं स्थानमा उक्लिएको थियो। त्यसपछि सिंगापुरमा भएको एसियाली खेलकुद छनोट प्रतियोगितामा अपराजित रहँदै उसले आफ्नो लयलाई निरन्तरता दिएको थियो।  यस सिरिजअघि नेपाली टोलीले युरोपेली परिस्थितिसँग अनुकूलन गर्न जर्सीसँग दुईवटा ५०–ओभरको अभ्यास खेल खेलेको थियो, दुवै खेलमा जित हासिल गर्दै आत्मविश्वास बटुलेको थियो।

पूरा खेल तालिका  त्रिकोणात्मक सिरिज अन्तर्गत ६ वटा ओडिआई खेलहरू निम्न रहेका छन्:

साउन ५, २०८३ (जुलाई २१) : नेपाल बिरुद्ध नामिबिया – ११६औं ओडिआई
साउन ७, २०८३ (जुलाई २३) : नेदरल्यान्ड्स बिरुद्ध नेपाल – ११७औं ओडिआई
साउन ९, २०८३ (जुलाई २५) : नामिबिया बिरुद्ध नेदरल्यान्ड्स – ११८औं ओडिआई
साउन ११, २०८३ (जुलाई २७) : नेपाल बिरुद्ध नामिबिया – ११९औं ओडिआई
साउन १३, २०८३ (जुलाई २९) : नेदरल्यान्ड्स बिरुद्ध नेपाल – १२०औं ओडिआई
साउन १५, २०८३ (जुलाई ३१) : नामिबिया बिरुद्ध नेदरल्यान्ड्स – १२१औं ओडिआई

सबै खेल नेपाली समयानुसार दिउँसो २:४५ बजे सुरु हुनेछन्।

नेपाली टोलीको अवस्था र मुख्य खेलाडी

नेपाली टोली हाल उत्कृष्ट फारममा रहेको छ। कप्तान रोहित पौडेल ले टोलीको लक्ष्य स्पष्ट पार्दै भने, “हाम्रो अन्तिम लक्ष्य ओडिआई विश्वकप खेल्नु हो, र हाम्रो दृष्टिकोणले त्यस महत्वाकांक्षालाई प्रतिबिम्बित गर्दछ।”

टोलीका प्रमुख खेलाडीहरू उत्कृष्ट लयमा छन्। सलामी ब्याट्सम्यान कुशल भुर्तेल ले पछिल्लो पाँच ओडिआईमा २०२ रन बनाएका छन्। उप–कप्तान दीपेन्द्र सिंह ऐरी ले पछिल्लो आठ खेलमा ३८४ रन र ११ विकेट लिएका छन्। लेग–स्पिनर सन्दीप लामिछाने पछिल्लो आठ खेलमा १९ विकेटका साथ बलिङ आक्रमणको मेरुदण्ड हुन्, र उनले जुन २०२५ यता लगातार १३ खेलमा कम्तीमा एक विकेट लिने अभिलेख कायम राखेका छन्।

नेपाली टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप–कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ईशान पाण्डे, आरिफ शेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, भीम शार्की, अर्जुन कुमाल, विनोद भण्डारी। रिजर्भ : शहब आलम, हेमन्त धामी, आकाश चन्द, युवराज खत्री, सुन्दीप जोरा।

प्रतिद्वन्द्वी टोलीहरू

नेदरल्यान्ड्स लिग–२ तालिकामा ३२ अंकका साथ तेस्रो स्थानमा छ। स्कट एडवर्ड्सको कप्तानीमा रहेको घरेलु टोलीले बास डि लिड, लोगान भान बिक, रोएलोफ भान डर मेर्वेजस्ता अनुभवी खेलाडीहरूको साथमा बलियो उपस्थिति जनाउनेछ।

नामिबिया २२ अंकका साथ सातौं स्थानमा छ। गेर्हार्ड इरास्मसको कप्तानीमा रहेको टोलीले भारतको विदर्भविरुद्ध पाँच खेलको तयारी सिरिज जितेको थियो।

सन्दर्भ : आईसीसीले यस सिरिजका लागि नेदरल्यान्ड्सको प्रशिक्षण समूहमा दक्षिण अफ्रिकाका पूर्व कप्तान जोहान बोथा लाई सल्लाहकारको रूपमा नियुक्त गरेको छ।