काठमाडौँ, असार १४ गते । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएकाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज साँझ विशेष मौसम बुलेटिन जारी गर्दै उक्त पूर्वानुमान गरेको हो।
महाशाखाका अनुसार मधेस, कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी (मुसलधारे) वर्षा हुने सम्भावना रहेको छ। यसैगरी देशका पहाडी तथा तराई क्षेत्रका धेरै र हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ।
बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्ने भएकाले मनसुन देशका बाँकी क्षेत्रमा पनि थप फैलिने सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्भावित भारी वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्र्यान बहावको जोखिम बढ्न सक्ने, सहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने र ठूला–साना नदीखोलामा पानीको सतह बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।
यसका साथै दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका निर्माण कार्य तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सर्वसाधारणका साथै सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी तथा प्रतिकार्यका लागि सजग रहन आग्रह गरिएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


















