धनगढी, जेठ २५ गते । कैलालीको कैलारी गाउँपालिकास्थित घुरहा नदी आसपासका सामुदायिक वन क्षेत्रमा बाघ देखिन थालेपछि स्थानीयवासी त्रसित बनेका छन्।
डमरुसहितको पोथी बाघले घरपालुवा जनावरसमेत मार्न थालेपछि स्थानीयमा त्रास बढेको हो। वन क्षेत्रको आसपास विद्यालयसमेत रहेकाले विद्यार्थीहरूको सुरक्षाप्रति चिन्ता बढेको कैलारी गाउँपालिका–४, के गाउँका तीर्थराज नेपालले बताउनुभयो। उहाँका अनुसार बाघ देखिएपछि विद्यालय वरपरका झाडी सफा गरिएको छ।
कैलारी गाउँपालिका–४ स्थित हरियाली महिला सामुदायिक वन, मिलन सामुदायिक वन तथा वडा नं. ६ को भगतपुरस्थित सयपत्री सामुदायिक वन क्षेत्रमा डमरुसहितको बाघ ओहोरदोहोर गरिरहेको स्थानीयले बताएका छन्। यी वन क्षेत्र घुरहा नदी वारिपारि एकै क्षेत्रमा अवस्थित छन्।
हरियाली महिला सामुदायिक वन उपभोक्ता समितिकी सचिव सुनिताकुमारी चौधरीका अनुसार बाघले दुई वटा गोरु र एउटा बँदेल मारिसकेको छ। उहाँले भगतपुरका स्थानीयले बाघलाई डमरुसहित नदी वारपार गरिरहेको अवस्थामा देखेको जानकारी दिनुभयो।
यसैगरी, वनमा हराएको गाई खोज्न गएका के गाउँका चन्द्रकला नेपाल र उहाँका छोरा नीरज नेपालको पनि बाघसँग केही मिटरको दूरीमा जम्काभेट भएको थियो।
“वनभित्र रहेको बाँसको झाडी नजिक बाघ देखेपछि म डरले चिच्याउन थालेँ,” प्रत्यक्षदर्शी चन्द्रकलाले भन्नुभयो, “तर छोरो भने मोबाइलबाट फोटो खिच्न थाल्यो।” बाघसँग जम्काभेट भएपछि आफूहरू त्रसित भए पनि केही तस्बिर खिचेर घर फर्किएको नीरजले बताउनुभयो।
भारतको दुधुवा राष्ट्रिय निकुञ्ज नजिक पर्ने उक्त क्षेत्रमा विगतमा पनि पाटेबाघ ओहोरदोहोर गर्ने गरेको अभिलेख छ। दुधुवामा बाघको सङ्ख्या बढी भएकाले पोथी बाघले आफ्ना डमरु जोगाउन तथा हुर्काउन बसन्ता जैविक मार्ग (कोरिडोर) हुँदै विभिन्न सामुदायिक वन क्षेत्रमा ल्याउने गरेको स्थानीयको भनाइ छ। हरियाली महिला सामुदायिक वन लगायतका क्षेत्रमा मोहना र घुरहा नदी किनार हुँदै बाघ दुधुवाबाट आउने गरेको जनाइएको छ।
सामुदायिक वन क्षेत्र वरिपरि विद्यालयसमेत रहेकाले बाघको गतिविधि निगरानी गर्न क्यामेरा ट्र्याप जडान गर्न स्थानीयले डिभिजन वन कार्यालयसँग माग गरेका छन्।
डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले कैलारीका सामुदायिक वन क्षेत्रमा बाघ देखिएको विषयमा औपचारिक जानकारी प्राप्त नभएको बताउनुभयो। यद्यपि, बाघ आएको पुष्टि भएमा आवश्यक सतर्कता अपनाउन उहाँले स्थानीयलाई आग्रह गर्नुभयो।
स्थानीयका अनुसार बाघ हुलाकी राजमार्ग अन्तर्गत घुरहा नदीको पुल क्षेत्रदेखि उत्तरतर्फको वन क्षेत्र र नदी किनारमा ओहोरदोहोर गरिरहेको छ। त्यस क्षेत्रमा आवतजावत गर्दा विशेष सावधानी अपनाउन स्थानीयले अनुरोध गरेका छन्।
यसैबिच, सयपत्री सामुदायिक वन उपभोक्ता समितिका सचिव नरेन्द्र थारुले डमरुसहितको पोथी बाघलाई पछ्याउँदै भाले बाघ पनि उक्त क्षेत्रमा आएको दाबी गर्नुभयो। उहाँका अनुसार भाले बाघ आएपछि पोथी बाघ आफ्ना डमरुसहित मोहनपुरतर्फको वन क्षेत्रमा सरेको छ।
– अविनाश चौधरी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






























