06/05/2026, 22:20:07
शुक्रबार, जेठ २२, २०८३

मानवीयतामा आधारित काठमाडौँ सहरको व्यवस्थापन गरिने


काठमाडौँ, जेठ २२ गते । काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्रका सार्वजनिक स्थलहरुमा मागेर बस्नेहरुलाई पूर्ण निषेध गर्ने भएको छ ।

वेसहारा, अशक्त, असहाय, अभिभावकविहिन, सडक आश्रित व्यक्तिहरु जसले आफ्नो हेरचाह आफैँ गर्न सक्नुहुन्न, हेरचाह र स्याहारका लागि आफन्त पनि हुनुहुन्न, खानका लागि अन्नपात छैन, अन्न किन्ने पैसा छैन, विरामी पर्दा उपचार गर्ने पैसा छैन, त्यस्ता व्यक्तिहरुको हेरचाह, औषधोपचार तथा लालनपालनका लागि मानव सेवा आश्रमसँगको सहकार्यमा मानवोचित व्यवस्थापन गरिने भएको हो ।

जसले माग्ने कामलाई पेशा बनाएका छन् । त्यस्ता व्यक्तिका लागि मागेर खाने कामलाई पूर्ण निषेध गरिने भएको छ । आज पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर प्रवक्ता नविन मानन्धरले, यो काम एकद्वार प्रणालीबाट दिगो नतिजा प्राप्त हुने गरी सञ्चालन गरिने जानकारी दिनुभयो ।

पत्रकार भेटघाट कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, प्रवक्ता मानन्धर, सामाजिक समितिका संयोजक रामकुमार केसी, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी, कार्यपालिका सदस्यहरु महेश नेपाली, ललिता खड्गी, मीना सुनारसहित विभागीय प्रमुखहरु सहभागी हुनुहुन्थ्यो ।

blog

प्रवक्ता मानन्धरका अनुसार २०७४ साल मङ्सिर १ गतेदेखि २०८३ साल जेठ २१ गते सम्ममा २ हजार ४२१ जनालाई उद्धार गरिएको छ । जसमा १ हजार ५७१ जना पुरुष र ८५० जना महिला हुनुहुन्छ । उमेरगत हिसाबले हेर्दा ५ वर्षसम्मका २ जना बालक र ८ जना बालिका गरी १० जना हुनुहुन्छ । ६ वर्षदेखि १७ वर्षसम्मका ३९ जना बालक र २४ जना बालिका गरी ६३ जना बालबालिका हुनुहुन्छ । १८ देखि ३९ वर्षसम्मका ३८७ जना पुरुष र २६६ महिला गरी ६५३ जना वयस्क हुनुहुन्छ । ४० वर्षदेखि ५९ वर्ष सम्मका ५८३ जना पुरुष र २७१ जना महिला गरी ८५४ जना हुनुहुन्छ । ६० वर्ष माथिका ५६० जना पुरुष, २८१ जना महिला गरी ८४१ जना हुनुहुन्छ ।

उद्धारपछि ३८९ जना महिला र ४९४ जना पुरुष गरी ८८३ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । १८७ जना महिला र ३४७ जना पुरुष गरी ५३४ जनालाई सामाजिक पुनःस्थापना गरिएको छ । उद्धारपछि आश्रममा रहेकै बेला १०१ जना महिला र २२२ जना पुरुषको निधन भएको छ । अहिले मानव सेवा आश्रममा २०७ जना पुरुष, १३७ जना महिला गरी ३४४ जना आश्रित हुनुहुन्छ ।

मठ मन्दिर, देवल, पाटी, गुम्बा, चैत्य, चोक, गल्ली, पार्क सडक पेटी, आकासे पुल जस्ता मानिसहरु भीड हुने तथा बाक्लो आवतजावत हुने स्थानमा विरामी भएको जस्तो गरेर बस्ने र माग्ने काम निषेध गर्ने उद्देश्यले त्यस्ता व्यक्तिहरुलाई उद्धार गरेर अवस्था पहिचान गर्न तिलगंगा क्षेत्रमा महानगरपालिकाले स्क्रीनिङ् सेन्टर सञ्चालन गरेको छ ।

यसको व्यवस्थापन मानव सेवा आश्रमले गरेको छ । यस्तै हरेक दिन विहान, दिउँसो र बेलुका ३ सिफ्टमा सडकमा मागेर बसिरहेका व्यक्तिहरुलाई उद्धार गरेर सेन्टरमा लैजाने, उहाँको पहिचान र आवश्यकता पत्ता लगाउने, सम्भव भएसम्म पारिवारिक पुनर्मिलन गराउने तथा सामाजिक पुनःस्थापना गराउने काम भइरहेको छ ।

विगतदेखि सञ्चालन गरेका अनुभव र सिकाइलाई आधार मानेर मागेर खाने सहर होइन, गरेर खाने सहरका रुपमा विकसित गर्न खोजिएको हो ।