06/05/2026, 13:17:10
शुक्रबार, जेठ २२, २०८३

गोरखामा ‘गबारो’ र ‘नेक ब्लास्ट’को प्रकोप, चैते धानमा व्यापक क्षति


गोरखा, जेठ २२ गते । गोरखामा अत्यधिक रूपमा खेती गरिएको चैते धानबालीमा ‘गबारो’ र ‘नेक ब्लास्ट’ रोगको प्रकोप फैलिँदा भित्र्याउने तयारीमा रहेको अधिकांश धानबाली नष्ट भएको छ । कृषि विकास कार्यालय गोरखाका अनुसार केही दिनमै रोग तीव्र रूपमा फैलिँदै धेरैजसो खेतमा उत्पादन नै सखाप भएको हो ।

चैते धान पाकेर थन्क्याउने बेला भएको अवस्थामा अचानक रोग देखिएपछि किसानहरू समस्यामा परेका छन् । कृषि विकास अधिकृत विवेक पौडेलले भन्नुभयो, “भित्र्याउने बेला भएको धानमा एक्कासि रोग फैलिएर पाँच दिनको अन्तरालमै अधिकांश बालीमा अत्यधिक क्षति पुगेको छ,” उहाँले बताउनुभयो ।

यस वर्ष गोरखाको सिरानचोक, पालुङटारलगायतका पालिकामा करिब ३ हजार रोपनी क्षेत्रफलमा चैते धान खेती गरिएको थियो । तीमध्ये अधिकांश क्षेत्रमा रोगको प्रभाव देखिएपछि धानका बालामा दानाको सट्टा भुस मात्र देखिन थालेको छ, जसले किसानहरूको वर्षभरको मेहनत खेर जाने अवस्था सिर्जना भएको कार्यालयले जनाएको छ ।

रोगको प्रकृति पहिचान गर्न प्रदेश कृषि प्रयोगशाला पोखराबाट प्राविधिक टोलीले स्थलगत अध्ययन गरी नमुना संकलन गरेको छ । प्रारम्भिक अध्ययनका आधारमा ‘गबारो’ र ‘नेक ब्लास्ट’ रोगको संक्रमण रहेको अनुमान गरिएको छ भने प्रयोगशालाको अन्तिम प्रतिवेदन आउन बाँकी रहेको कृषि अधिकृत पौडेलले बताउनुभयो ।

विगतमा गबारो रोगले २५ देखि ३० प्रतिशतसम्म मात्र क्षति पुर्‍याउने गरेको थियो । तर यस पटक गबारोसँगै नेक ब्लास्ट रोगको संक्रमण फैलिँदा क्षतिको मात्रा अत्यधिक बढेको छ । रोग नियन्त्रणका लागि विषादी वितरण गरिए पनि प्रभावकारी नियन्त्रण हुन नसकेको कृषि विकास अधिकृत पौडेलले बताउनुभयो ।

विगत तीन वर्षदेखि गण्डकी प्रदेश सरकारले गोरखामा चैते धान खेतीलाई पाइलट परियोजनाका रूपमा सञ्चालन गर्दै आएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाको धान जोन क्षेत्रभित्र समेत रोग फैलिएकाले सम्बन्धित निकाय थप सतर्क बनेका छन् ।

कृषि विकास कार्यालय गोरखाले समयमै नियन्त्रणका उपाय अवलम्बन नगरे बर्खे धानमा समेत संक्रमण फैलिन सक्ने चेतावनी दिएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..