

काठमाडौँ, जेठ २१ गते । विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तापलहर (लू)को जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले मनसुन सुरु भएसँगै तातो हावाको प्रभाव देखिन सक्ने पूर्वानुमान रहेको बताउँदै तापलहरबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभयो ।
उहाँले लूको जोखिम रहेका तराईका जिल्लामा जोखिम न्यु+नीकरणका लागि मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक तयारी गरिरहेको बताउनुभयो । तातो हावा लूबाट बच्न दिउँसोको अत्यधिक गर्मीमा बाहिरका काम सकेसम्म नगरी बिहान वा साँझको समयमा गर्न, पर्याप्त मात्रामा पानी तथा झोलिलो खानेकुरा सेवन गर्न र आवश्यक आराम गर्न सुझाव दिनुभयो ।
डा. अधिकारीले तापलहरको दीर्घकालीन असर आँखा र छालामा समेत पर्न सक्ने भएकाले उच्च तापक्रमका बेला घरबाहिर निस्कँदा आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरू तापलहरको उच्च जोखिममा रहने भएकाले विशेष सतर्कता आवश्यक रहेको बताउनुभयो ।
उहाँले तातो हावाको जोखिमबाट बच्न धूम्रपान तथा मद्यपानबाट टाढा रहन, शरीरमा पानीको मात्रा सन्तुलित राख्न र स्वास्थ्यमा कुनै असामान्य समस्या देखिएमा तत्काल स्वास्थ्यकर्मीसँग परामर्श लिन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “मनसुन सुरु भएसँगै हामी तातो हावाको जोखिममा पर्न सक्ने पूर्वानुमानहरू आइरहेका छन् । तापलहर लूको जोखिमबाट बच्न हामी सबैले आ–आफ्नो ठाउँबाट पूर्वतयारी गर्नुपर्छ । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरोकारवाला निकायसँग समन्वय गरेर काम गरिरहेको छ ।‘हिट वेभ’ अर्थात् तापलहरको जोखिम बढी तापक्रम हुने क्षेत्रमा बस्ने नागरिकले विशेष ध्यान दिनुपर्छ । दैनिक कामकाजलाई पनि तापक्रमअनुसार व्यवस्थापन गर्नुपर्छ । दिउँसो काम गर्ने बानी छ भने बिहान वा साँझको समय रोज्नुपर्छ, दिउँसो सकेसम्म घरमै बस्नुपर्छ, झोलिलो खानेकुरा खानुपर्छ र पर्याप्त आराम गर्नुपर्छ ।हिट वेभका कारण आँखा तथा छालामा दीर्घकालीन समस्या हुन सक्छ । त्यसैले उच्च तापक्रम भएको क्षेत्रमा घरबाहिर निस्कँदा आवश्यक सावधानी अपनाउनुपर्छ । बालबालिका र ज्येष्ठ नागरिक बढी जोखिममा पर्ने भएकाले उनीहरूले अझ बढी सावधानी अपनाउनुपर्छ । साथै, धूम्रपान तथा मद्यपानजस्ता स्वास्थ्यलाई असर गर्ने बानीबाट टाढा रहनुपर्छ । कुनै समस्या वा असहजता भएमा तत्काल स्वास्थ्यकर्मीसँग परामर्श गर्नुपर्छ ।”
‘लू’ भनेको के हो ?
तापलहर (लू) भनेको लामो समयसम्म अत्यधिक गर्मी रहने अवस्था हो, जुन प्रायः उच्च आर्द्रतासँगै देखिन्छ । कुनै क्षेत्रको सामान्य औसत तापक्रमभन्दा निकै माथि तापक्रम पुगेको अवस्थामा लू घोषणा गरिन्छ । जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम बढ्दै जाँदा तापलहरको जोखिम पनि बढिरहेको छ ।
तापलहरका कारण शरीरमा पानीको कमी (डिहाइड्रेसन), हिट स्ट्रोक तथा मुटुसम्बन्धी समस्याको जोखिम बढ्न सक्छ ।
लू लाग्नुका कारण
जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि हुनु
अव्यवस्थित सहरीकरण
कङ्क्रिटका भवन र सडकले ताप सोस्नु
वन फँडानीका कारण प्राकृतिक चिसोपन घट्नु
अत्यधिक गर्मी र उच्च आर्द्रता
तापलहर लूका लक्षण
डिहाइड्रेसन
अत्यधिक तिर्खा लाग्नु
मुख सुक्नु
थकान महसुस हुनु
गर्मीजन्य थकान
रिङ्गटा लाग्नु
धेरै पसिना आउनु
कमजोरी महसुस हुनु
हिट स्ट्रोक
शरीरको तापक्रम अत्यधिक बढ्नु
अन्योल हुनु
बेहोस हुनु
मुटुमा असर
मुटुको धड्कन बढ्नु
छातीमा असहजता हुनु
लूबाट बच्न के गर्ने ?
दिउँसोको अत्यधिक गर्मीमा बाहिर ननिस्कने ।
हल्का र खुकुलो कपडा लगाउने ।
चिसो वा छायाँयुक्त स्थानमा बस्ने ।
सम्भव भए पङ्खा वा एयर कन्डिसनर प्रयोग गर्ने ।
हल्का तथा पौष्टिक खाना खाने ।
चिकित्सकको सल्लाह अनुसार औषधी नियमित सेवन गर्ने ।
शरीरमा पर्याप्त पानीको मात्रा कायम राख्ने ।
रक्तचाप र रक्तशर्कराको नियमित निगरानी गर्ने ।
अत्यधिक शारीरिक श्रम नगर्ने ।
गर्मी बढेको समयमा घरभित्र वा चिसो स्थानमा बस्ने ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




































