06/02/2026, 10:08:50
मङ्गलबार, जेठ १९, २०८३

व्याडमिन्टन प्रशिक्षक ‘बिक्की’: स्वदेशमा अवसर पाएनन, भारतमा मासिक डेढ लाख कमाइ


महेन्द्रनगर, जेठ १९ गते । कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहलमा व्याडमिन्टन खेलको स्वयंसेवक प्रशिक्षकका रुपमा सात वर्ष काम गरेका विवेक थापा (बिक्की) यतिबेला भारतको कर्नाटक राज्यको बैङ्ग्लोरमा प्रशिक्षणमा जमेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्बाट एनआइएस तालिम गरेर प्रशिक्षकको योग्यता हासिल गरेका थापा विगत दश वर्षदेखि बैङ्ग्लोरमा व्याडमिन्टन प्रशिक्षण गराइरहेका छन् । नेपालमा छँदा कञ्चनपुरबाट अन्तरराष्ट्रिय स्तरसम्मका खेलाडी उत्पादन गरेका थापाले बैङ्ग्लोरमा पनि प्रदेशस्तरमा उपाधि विजेता खेलाडी उत्पादन गरिसकेका छन् ।

सन् २०१७ मा बैङ्ग्लोर पुगेर वाइटफिल्ड स्पोर्टस् सेन्टरमा व्याडमिन्टन प्रशिक्षकका रुपमा कार्यरत थापा पछिल्लो समय बैङ्ग्लोरको वाइटफिल्ड क्षेत्रका परिचित प्रशिक्षक कहलिएका छन् । थापाले स्पोर्टस् सेन्टरमा उत्पादन गरेका बैङ्ग्लोरका महिला खेलाडी माहिता नायडु अहिले कर्नाटक राज्यको यु–१५ व्याडमिन्टनतर्फ च्याम्पियन बनेकी छिन् । नायडु यु–१३ मा पनि राज्यको च्याम्पियन नै थिइन् । हाल उनले एक सय ५० भन्दा बढी खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् । खेलाडी नायडु कर्नाटकको एकल र डबल्सतर्फकी च्याम्पियन हुन् ।

महेन्द्रनगरमा प्रशिक्षक रहँदा थापाले यहाँबाट दिपेश धामी, चिरन विष्ट, मेघा चन्द, रञ्जना भट्ट, पुरन भण्डारी लगायत दर्जन बढी खेलाडी उत्पादन गरेका थिए । यिमध्ये केही खेलाडीले अन्तरराष्ट्रिय स्तरसम्म खेलमा सहभागिता जनाइसकेका छन् । उनले उत्पादन गरेका केही खेलाडी अहिले पनि राष्ट्रिय प्रतियोगिता खेलिरहेका छन् ।

नेपालमा मैले प्रशिक्षण गराएका १० जनाभन्दा बढी खेलाडीले अन्तरराष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाइसकेका छन्”, प्रशिक्षक थापाले भने, “अहिले बैङ्ग्लोरमा मेहनत गरेअनुसार राज्य स्तरीयसम्म्मका खेलाडी उत्पादन भइरहेका छन् ।

नेपालमा रहँदा करार प्रशिक्षकका लागि थापाले निकै दौडधुप गरेका थिए । यसका लागि उनले विभिन्न निकाय धाए । कुनै सीप नचलेपछि उनी भारत पलायन भएका हुन् । “थोरै पारिश्रमिकमा पनि आफ्नै देशमा खेलाडी उत्पादन गर्ने चाहना थियो, तर त्यो अवसर पाउन सकिन”, प्रशिक्षक थापाले भने । उनले अहिले भारतमा खेलाडी उत्पादन गरिरहँदा रु एक लाख ५० हजारभन्दा बढी मासिक कमाइ गरिरहेका छन् ।

प्रशिक्षक थापाले आफू कार्यरत स्पोर्टस् सेन्टरमा नेपालका पूर्वखेलाडी गोकुल जोरा, निखिल भट्ट, सौरभ बम, प्रतीक चन्द र जितेन्द्र शर्मालाई प्रशिक्षकका रुपमा काममा लगाएका छन् । “स्पोर्टस् सेन्टरका साथै अपार्टमेन्टमा पनि व्याडमिन्टन सिकाउँछु”, प्रशिक्षक थापाले भने ।

उनी विराटनगरका व्याडमिन्टन प्रशिक्षक उत्तम सिंखडाका माध्यमबाट बैङ्ग्लोर पुगेका हुन् । महेन्द्रनगरमा छैटौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका बखत थापाले तीन महिना स्वयंसेवक प्रशिक्षकका रुपमा काम गरेका थिए । स्वदेशमा पाएको यही नै उनको एउटा मात्र अवसर थियो ।

– शेरबहादुर सिंह


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..