05/23/2026, 18:14:35
शनिबार, जेठ ०९, २०८३

बीपी राजमार्ग : चुनौतीपूर्ण खण्डको नयाँ ट्रयाक १० दिनभित्र सञ्चालनमा आउने

१० किलोमिटरको यस खण्डमा करिब १०० जना कामदार नियमित रूपमा खटिएका छन्


सिन्धुली, जेठ ९ गते । बीपी राजमार्गको मर्मत तथा पुनर्निर्माण अन्तर्गत अत्यन्तै चुनौतीपूर्ण मानिएको चारसय बेँसी खण्डको नयाँ ट्रयाक आगामी १० दिनभित्र सञ्चालनमा ल्याइने भएको छ ।

संघीय संसद्को पूर्वाधार विकास समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले सो क्षेत्रको स्थलगत अनुगमन गरी निर्माण कार्यको प्रगतिबारे जानकारी दिनुभएको हो । हाल उक्त खण्डमा सवारीसाधन तलको वैकल्पिक मार्ग बाट गुडिरहेका छन् । माथिल्लो मुख्य ट्रयाक खुलिसकेको भए पनि निर्माण कार्यमा अवरोध नपुगोस् भन्ने उद्देश्यले अहिले सर्वसाधारणका लागि पूर्ण रूपमा खुला गरिएको छैन।

सभापति गजुरेलका अनुसार उक्त ट्रयाकको फाउन्डेसन तयार भइसकेको छ भने अब केही क्षेत्रमा पर्खाल लगाउने कार्य मात्र बाँकी रहेको छ । अनुगमनका क्रममा आयोजनाका प्राविधिकले पछिल्लो १५ दिनमा ट्रयाक खोल्ने काम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभयो । आगामी १० दिनभित्र फिलिङ र बाँकी निर्माण कार्य सकेर माथिल्लो सडकबाटै सवारीसाधन गुड्ने वातावरण मिलाइने लक्ष्य राखिएको छ । बाढी वा अन्य कुनै संकटकालीन अवस्था आएमा भने अहिले पनि सो ट्रयाक प्रयोग गर्न सकिने अवस्था रहेको प्राविधिक टोलीको भनाइ छ ।

१० किलोमिटरको यस खण्डमा करिब १०० जना कामदार नियमित रूपमा खटिएका छन् । बहुसंख्यक सर्वसाधारण र सरोकारवालाले तीन सिफ्टमा काम गराउन सुझाव दिए पनि कामदारको स्वास्थ्य र अर्को दिनको कार्यक्षमतालाई ध्यानमा राख्दै हाल दैनिक १० घण्टाको कार्यतालिका अपनाइएको सभापति गजुरेलले स्पष्ट पार्नुभयो ।

परियोजना अन्तर्गत भकुन्डेबेँसी खण्डको जटिल कामहरू सम्पन्न भइसकेकाले यस ४२० मिटरको खण्डलाई अन्तिम संवेदनशील विन्दुका रूपमा लिइएको छ । सडकको सुरक्षाका लागि माटो भएको स्थानमा रिटेनिङ वाल र चट्टानी भागमा आवश्यक प्रोटेक्सन वाल लगाउने कार्य पनि सँगसँगै अगाडि बढाइनेछ । आगामी असार १५ गतेसम्म यो खण्डलाई पूर्ण र व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी कामलाई तीव्र पारिएको छ ।