05/17/2026, 17:29:49
आइतबार, जेठ ०३, २०८३

गुन्डु संवादपछि एमालेको कार्यक्रममा प्रमुख अतिथि बनिन् पूर्वराष्ट्रपति भण्डारी


काठमाडौँ, जेठ ३ गते । पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित भएकी छिन् । आइतबार मदन भण्डारीको ३३औं स्मृति दिवसमा एमालेलाई भण्डारीलाई प्रमुख अतिथिका रूपमा बोलाएको हो ।

०८२ साउनमा भण्डारीको सदस्यता ‘पेन्डिङ’ मा राखेपछि उनलाई एमालेले प्रमुख अतिथिका रूपमा निम्त्याएको उनको सचिवालयले जनाएको छ ।

मदन भण्डारी तथा कुशल संगठक जीवराज आश्रितको स्मृति नेपाली राजनीति, लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय चेतनामा सधैं सम्मानका साथ जीवित रहनेछ भन्ने विश्वास व्यक्त गर्दछु । मदन र आश्रितले नेपाली कम्युनिस्ट आन्दोलनलाई संगठनात्मक उचाइमा मात्र होइन, वैचारिक स्पष्टतले राजनीति भनेको जनताको जीवनसँग जोडिएको विषय हो र जनताको विश्वासबाट निर्देशित हुनुपर्छ,’ उनले भनिन्, ‘आज हामीले गौरवका साथ स्मरण गर्ने एमालेले मार्गदर्शक सिद्धान्तका रूपमा अवलम्बन गरेको जनताको बहुदलीय जनवाद नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार हो ।

भण्डारीले ‘जबज’ का उपलब्धिसँगै प्रश्नहरू उठेको भण्डारीको भनाइ छ । ‘विगतका उपलब्धिहरूसँगै वर्तमानका चुनौतीहरूप्रति पनि हामी गम्भीर हुन आवश्यक छ। यदाकदा सिद्धान्त र व्यवहारबीच देखिने असन्तुलनका कारण समाजमा प्रश्नहरू उठ्ने गरेका छन्,’ उनले भनिन्, ‘जनताको विश्वास नै कुनै पनि राजनीतिक शक्तिको सबैभन्दा ठूलो शक्ति हो। यदि पार्टी र जनताबीच दूरी बढ्यो भने राजनीतिक आन्दोलनको मर्म कमजोर हुन्छ ।

पूर्वराष्ट्रपति भण्डारीले नेताहरूले आत्मसमीक्षा, आन्तरिक एकता गरी जनविश्वास जगाउनु पर्ने जनाएकी छन् । ‘अब पार्टीले पुनः जनविश्वासलाई अझ सुदृढ बनाउन जनमुखी कार्यशैली, आत्मअनुशासन र सेवाभावलाई व्यवहारमा उतार्नुपर्दछ,’ उनको सुझाव छ, ‘कार्यकर्ताहरू जनताको बीचमा पुग्नुपर्दछ, जनताको दुःख–सुखमा सहभागी हुनुपर्दछ र समाजमा सकारात्मक राजनीतिक संस्कार निर्माणमा सक्रिय बन्नुपर्दछ ।

वैशाख २८ मा गुन्डुमा भण्डारी र ओलीबीच छलफल भएको थियो । गत वर्ष साउनमा भण्डारीका सदस्यता ‘पेन्डिङ’ मा राखेपछि दुई नेताबीच विवाद बढेको थियो । गुन्डु भेटपछि एमालेले औपचारिक रुपमा प्रमुख अतिथिका रूपमा बल्खुमा बोलाएको हो । मदन आश्रित समृति कार्यक्रममा भण्डारीले नेताकै हैसियतले सम्बोधन गरिन्, ‘जनताको बहुदलीय जनवादको मूल मर्मलाई आत्मसात गर्दै लोकतन्त्र, राष्ट्रिय एकता, सुशासन र समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि हामी सबै एकताबद्ध भएर अघि बढौं ।

कार्यक्रममा एमाले अध्यक्ष ओली भने सहभागी भएनन् । उनले सामाजिक सञ्जालबाट मदन र आश्रितलाई सम्झिाए । ‘मदन भण्डारी-जीवराज आश्रित, अनि यस आन्दोलनले जन्माएका कैयौं अग्रज र योद्धाहरू आज हामीमाझ शारीरिक रूपमा हुनुहुन्न। तर विचार र योगदान हाम्रो राजनीतिक यात्रामा दीपस्तम्भझैँ छन्,’ ओलीले भनेका छन् ।

– गंगा बीसी