05/16/2026, 19:51:49
शनिबार, जेठ ०२, २०८३

विश्वभर चासोको विषय बनेको ‘हान्टा भाइरस’, नेपाल कत्तिको सुरक्षित ?

ज्वरो आउने, रिङ्गटा लाग्ने, मांसपेशी दुख्ने, पखाला लाग्ने, वाकवाक वा बान्ता हुने, पेट दुख्ने, रक्तचाप घट्ने हान्टा भाइरसका प्रमुख लक्षण हुन् ।


काठमाडौँ, जेठ २ गते । विश्व नै तरङ्गित बनाएको हान्टा भाइरस यतिबेला सबैको चासोका विषय बनेको छ । यो भाइरसबाट दर्जनौँ मानिस सङ्क्रमित हुनुका साथै तीन जनाको मृत्यु भइसकेकाले पनि सबैको चासो बढेको हो ।

कोरोना भाइरसले जस्तै महामारीका रूप त लिने होइन भनेर धेरै देशमा चिन्ताको विषय बनेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यो भाइरसको सङ्क्रमण फैलने जोखिम निकै न्यून रहेको स्पष्ट पारेको छ । हान्टाभाइरस ‘हान्टाभाइरस समूहको एन्डिज भाइरस बाट सङ्क्रमित हुने गर्छ । त्यो भाइरस भएको मुसा नेपालमा हालसम्म नपाइएकाले यसको जोखिम न्यून रहेको छ ।

सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनका अनुसार हान्टा भाइरस एक दुर्लभ भाइरसजन्य रोग हो । यो भाइरस नयाँ नभएको उहाँको भनाइ छ । उहाँका अनुसार महामारीको रूप नलिएको भए पनि बेला बेलामा यो भाइरस मानिसमा पुष्टि हुने गरेको छ । यो भाइरस मुख्यतया सङ्क्रमित मुसाको पिसाब, दिसा,र्‍याल वा तिनले दूषित बनाएको वातावरणसँगको सम्पर्कमा आउँदा मानिसमा सङ्क्रमण हुने उहाँ बताउनुहुन्छ ।

ज्वरो आउने, रिङ्गटा लाग्ने, मांसपेशी दुख्ने, पखाला लाग्ने, वाकवाक वा बान्ता हुने, पेट दुख्ने, रक्तचाप घट्ने यसका प्रमुख लक्षण हुन् ।जटिल हुँदै गएमा खोकी लाग्ने, श्वासप्रश्वासमा कठिन हुने, छाती कस्सिएको अनुभव हुने, मिर्गौला र फोक्सोको कार्य क्षमतामा कमजोरी हुँदै जाने जस्ता स्वास्थ्य समस्या निम्तने गर्छन् ।

उहाँले हान्टा भाइरसको सङ्क्रमण मानिसबाट मानिसमा सर्ने सम्भावना न्यून हुने अध्ययनले देखाएको बताउनुभयो । नेपालमा यसको जोखिम न्यून भए पनि सतर्कता अपनाउन आग्रह गर्नुभयो । उहाँ भन्नुहुन्छ, “यो भाइरसको जोखिम नेपालमा न्यून भए पनि सङ्क्रमित मुलुकबाट आवतजावत हुने भएकाले यो भाइरस नेपालमा भित्रिदैँन भन्न सकिदैँन । त्यसैले सचेत भने हुनुपर्छ ।

भविष्यमा यस्ता भाइरसहरू नेपालमा नभित्रियोस् भनेर सरकारले परीक्षण सुरु गर्नुका साथै रोगलाई नजिकबाट निगरानीमा राख्न आवश्यक रहेको उहाँको भनाइ छ । यो भाइरसबाट सुरक्षित रहन घर तथा वरपरको वातावरण सफा राख्न, मुसा प्रवेश गर्ने सम्भावित स्थान बन्द गर्न, मुसाको फोहोर सफा गर्दा मास्क तथा पञ्जा प्रयोग गर्ने, साबुनपानीले राम्रोसँग सफा गर्ने जस्ता सुरक्षाको उपाय अपनाउन डा. पुनको सुझाव छ ।

– सिर्जना खत्री