05/13/2026, 10:57:55
बुधबार, बैशाख ३०, २०८३

सप्तरीमा अभद्र व्यवहार, ज्यान मार्ने उद्योग र चोरी मुद्दामा ६ जना पक्राउ


कल्याणपुर (सप्तरी), वैशाख ३० गते । सप्तरी प्रहरीले विभिन्न मुद्दामा फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले अभद्र व्यवहार, ज्यान मार्ने उद्योग तथा चोरी सम्बन्धी कसुरमा फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार अभद्र व्यवहार मुद्दामा सुरुङ्गा नगरपालिका वडा नम्बर ३ बस्ने ३४ वर्षीय अनिल कुमार चौधरी, ३१ वर्षीय दुर्गानन्द चौधरी र २१ वर्षीय डोडिया भनिने राजन चौधरी पक्राउ पर्नुभएको छ । उहाँहरुलाई सोमबार राति १०ः३० बजे सुरुङ्गा नगरपालिका वडा नम्बर ३ स्थित ड्युटीमा रहेका प्रहरी टोलीमाथि अश्लील शब्द प्रयोग गर्दै हातपातसमेत गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।

पक्राउ पर्नुभएका उहाँहरुलाई जिल्ला प्रशासन कार्यालय सप्तरीबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी ज्यान मार्ने उद्योग मुद्दामा खडक नगरपालिका वडा नम्बर ७ बस्ने ३५ वर्षीय प्रकाश भनिने विजय साह पक्राउ पर्नुभएको छ । उहाँ उपर वैशाख १० गते बिहान करिब ६ बजे घरायसी विवादका क्रममा स्थानीय जाहेरीकर्तामाथि बाँसको फट्टाले टाउकोमा प्रहार गरी घाइते बनाएको आरोप छ । सप्तरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि फरार रहनुभएका उहाँलाई पक्राउ गरी छ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस्तै चोरीसम्बन्धी कसुरमा शम्भुनाथ नगरपालिका वडा नम्बर ३ बस्ने २६ वर्षीय शशित कुमार साह र वडा नम्बर बस्ने २६ वर्षीय अजय साह पक्राउ पर्नुभएको हो ।

उहाँहरु उपर वैशाख २९ गते राति करिब १२ बजे शम्भुनाथ नगरपालिका वडा नम्बर ३ स्थित शम्भुनाथ मेलामा गएको बेला हराएको टिभिएस मोटरसाइकल चोरी गरेको आरोप छ । इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले शम्भुनाथ नगरपालिका ६ तितिराहीस्थित क्षेत्रमा मोटरसाइकलसहित उहाँहरुलाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नुभएका उहाँहरुलाई सप्तरी जिल्ला अदालतबाट छ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

– विनय कर्ण