

काठमाडौँ, वैशाख २७ गते । काठमाडौँ उपत्यकामा निरन्तर ट्राफिक नियम उल्लंघन गर्दै आएका ३१ जना सवारी चालकलाई सवारी चालक अनुमति पत्र निलम्बन गर्न सिफारिस गरिएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ती चालकहरूले अधिकतम १६ पटकसम्म ट्राफिक नियम उल्लंघन गरेको अभिलेख देखिएपछि उनीहरूको लाइसेन्स छ महिनाका लागि निलम्बन गर्न यातायात व्यवस्था विभागसमक्ष सिफारिस पठाएको जनाएको छ ।
ट्राफिक प्रहरीले नियम विपरीतका गतिविधिमा पटक-पटक कारबाहीमा परे पनि सुधार नआएको र एउटै प्रकृतिका गल्ती दोहोरिँदै गएको अवस्थालाई आधार बनाएर कडा प्रशासनिक कारबाही प्रक्रिया अघि बढाइएको स्पष्ट पारेको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने चालकको अनुमति पत्र अधिकतम छ महिनासम्म निलम्बन गर्न सकिने कानुनी व्यवस्था छ । सोही प्रावधानअनुसार विभागमा निलम्बन सिफारिस गरिएको ट्राफिक प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार केवल जरिवाना तिराउने अभ्यासले मात्रै ट्राफिक अनुशासन कायम गर्न अपेक्षित प्रभाव नपरेपछि अनुमति पत्र निलम्बनजस्ता थप कडा उपाय अवलम्बन गरिएको हो । निलम्बन लागू भएपछि सम्बन्धित चालकहरूले उक्त अवधिभर कुनै पनि सवारीसाधन चलाउन पाउने छैनन् ।
ट्राफिक प्रहरी कार्यालयले यस प्रकारको कारबाहीले उपत्यकामा ट्राफिक नियम पालनामा सुधार ल्याउने तथा सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरेको जनाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



































