05/07/2026, 17:16:36
बिहिबार, बैशाख २४, २०८३

राष्ट्रपति पौडेलबाट पाँच पत्रकार सम्मानित


काठमाडौं, वैशाख २४ गते ।राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो बनाउँदै सुशासन, विकास, प्रगति र आर्थिक समृद्धिको युगानुकूल चाहनालाई पूरा गर्ने अभियानमा नेपाली प्रेसले अझै प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सूचना तथा संचार प्रविधि मन्त्रालयद्वारा आयोजित पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो विचार व्यक्त गर्नु भएको हो ।

कार्यक्रममा राष्ट्रपति पौडेलले वरिष्ठ पत्रकार सम्मानबाट चन्द्रकिशोर झा र नम्रता शर्मालाई सम्मान गर्नुभयो भने राष्ट्रिय पत्रकारिता पुरस्कारबाट भोला पासवान, उमेश श्रेष्ठ र रुपा गहतराजलाई राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित गर्नुभयो ।

नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक लगायतका हरेक परिवर्तनहरूमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहँदै आएको स्मरण गर्नुभयो । उहाँले हाम्रो संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको बताउनुभयो । संविधानको यो मर्म र भावनाअनुसार पत्रकारलाई निर्भय र स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको उहाँको भनाइ थियो ।

त्यसैगरी, सत्यतथ्य समाचार सम्प्रेषण गरेर जनतालाई सुसूचित गर्नु जिम्मेवार प्रेसको धर्म भएको उल्लेख गर्दै उहाँले यसतर्फ नेपाली प्रेस सदैव सजग र चनाखो हुने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले पत्रकारिता परिवर्तनको वाहक र राष्ट्र निर्माणको एउटा सशक्त तथा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त भएको स्पष्ट पार्नुभयो । उहाँले स्वतन्त्र र निष्पक्ष पत्रकारिताविना लोकतन्त्रको कल्पना गर्न नसकिने बताउनुभयो ।

राष्ट्रपति पौडेलले समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने भन्दै सुरक्षित र जोखिममुक्त वातावरणमा समाचार सङ्कलन र सम्प्रेषण गर्ने अवस्थाको सुनिश्चितातर्फ सबैको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।

उहाँले श्रमजीवी पत्रकारहरूको हकहित र सञ्चार गृहहरूको आर्थिक दिगोपनका लागि सरकार र निजी क्षेत्र दुवैले समन्वय गर्न जरुरी रहेकोमा जोड दिनुभयो । सूचना प्रविधिको विकाससँगै बढ्दो सामाजिक सञ्जाल र नागरिक पत्रकारिताको प्रयोगले आधारहीन र मिथ्या सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराको सामना गर्नु वर्तमान आमसञ्चार माध्यमसामु थपिएको चुनौति रहेको उहाँले बताउनुभयो । यो चुनौतिको सामना गर्न नेपाली प्रेस सक्षम हुनेमा आफू विश्वस्त रहेको उहाँको भनाइ थियो ।

राष्ट्रपति पौडेलले वरिष्ठ पत्रकारिता सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकारहरूले दशकौंदेखि कलमका माध्यमबाट समाजलाई देखाउनु भएको बाटो र पु¥याउनुभएको योगदानको कदरस्वरूप राज्यको सम्मान भएको बताउँदै पुरस्कृत सबैलाई बधाई दिनुभयो ।

उहाँले पुरस्कृत पत्रकारहरूको साधनाले नयाँ पुस्ताका पत्रकारहरूलाई व्यावसायिक निष्ठा र सत्यको मार्गमा लागिरहन सधैँ उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

स्वतन्त्र र मर्यादित पत्रकारिता आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना


कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र, निष्पक्ष र मर्यादित पत्रकारिता अपरिहार्य रहेको बताउनुभएको छ ।

राष्ट्रिय पत्रकारिता दिवस २०८३ तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै सञ्चारमन्त्री डा. तिमिल्सिनाले नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको उल्लेख गर्दै सरकारले प्रेसमाथि कुनै पनि प्रकारको अंकुश लगाउने पक्षमा नरहेको स्पष्ट पार्नुभयो । उहाँले स्वतन्त्रतासँगै जिम्मेवारी र उत्तरदायित्व पनि जोडिएर आउने बताउँदै तथ्य र सत्यमा आधारित पत्रकारिताले मात्रै समाजलाई सही दिशानिर्देश गर्न सक्ने धारणा राख्नुभयो ।

मन्त्री तिमिल्सिनाले डिजिटल युगमा प्रविधिमैत्री र जिम्मेवार पत्रकारिता सुशासनको आधार भएको उल्लेख गर्दै यस वर्षको राष्ट्रिय पत्रकारिता दिवसको नारा ‘सुशासनको आधारः प्रविधिमैत्री जिम्मेवार पत्रकार’ ले आधुनिक पत्रकारितालाई दिशानिर्देश गरेको बताउनुभयो ।

विश्वव्यापी सूचना प्रविधिको तीव्र विकाससँगै सञ्चार क्षेत्रमा अवसरसँगै चुनौती पनि थपिएको उल्लेख गर्दै उहाँले छापा माध्यमदेखि अनलाइन सञ्चारमाध्यमसम्मको व्यावसायिकता र दिगोपन सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । सञ्चारमाध्यमको हितमा नीतिगत व्यवस्था गर्न मन्त्रालयले विज्ञापन नीति २०८३ तर्जुमा गर्ने तयारी गरिरहेको जानकारी पनि उहाँले दिनुभयो ।

सामाजिक सञ्जालको दुरुपयोग र फेक न्यूज’ का कारण समाजमा भ्रम र विभाजन फैलिरहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले तथ्य जाँचलाई पत्रकारिताको महत्वपूर्ण अङ्गका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनप्रति सरकार प्रतिबद्ध रहेको बताउँदै पत्रकारको न्यूनतम पारिश्रमिक, पेशागत सुरक्षा र वृत्ति विकासका लागि थप प्रभावकारी कदम चालिने जानकारी दिनुभयो ।

पत्रकारिता केवल सूचनाको संवाहक मात्र नभई सामाजिक न्याय र समृद्धिको उत्प्रेरक भएको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले विकास, सुशासन र सामाजिक रूपान्तरणका मुद्दा जनतासम्म पुर्‍याउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । आलोचना तथ्यमा आधारित, वस्तुपरक र रचनात्मक हुनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले सरकारले सञ्चार क्षेत्रसँग सम्बन्धित विभिन्न कानुन निर्माणको तयारी गरिरहेको जानकारी दिँदै पत्रकारिता क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र आधुनिक बनाउने तथा पत्रकारको हित प्रवर्द्धन गर्ने लक्ष्य लिइएको बताउनुभयो ।

विसं. १९५८ वैशाख २४ गते ‘गोरखापत्र’ प्रकाशन सुरु भएको ऐतिहासिक दिनको स्मरणमा राष्ट्रिय पत्रकारिता दिवस मनाइदै आएको छ ।