05/05/2026, 10:35:08
मङ्गलबार, बैशाख २२, २०८३

चार दिनदेखि अन्धकारमा १३ हजार उपभोक्ता


वालिङ (स्याङ्जा), वैशाख २२ गते । चार दिनदेखि विद्युत सेवा अवरुद्ध हुँदा स्याङ्जाका हजारौँ उपभोक्ता समस्यामा परेका छन् । बुटवल पावर कम्पनी (विपिसी)बाट सेवा लिइरहेका जिल्लाका वालिङ, भीरकोट र गल्याङ क्षेत्रका नागरिक प्रभावित बनेका हुन् ।

विपिसीले वालिङ–मर्दीस्थित सबस्टेसनमा रहेको ट्रान्सफर्मरमा शनिबार राति अचानक समस्या आएको जनाएको छ । जसका कारण करिब १३ हजार उपभोक्ता प्रभावित भएको विपिसीका प्रमुख कार्यकारी अधिकृत उत्तमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बिग्रिएको ट्रान्सफर्मर मर्मत गर्न झण्डै २५ दिन लाग्ने भएपछि विकल्पका लागि नेपाल विद्युत प्राधिकरणसँग सहयोग मागिएको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार ग्राहकलाई नियमित विद्युत आपूर्ति गर्न प्राधिकरणसँग ३ एमभीए क्षमताको ३३÷११ केभी ट्रान्सफर्मर वा ५ एमभीएको एउटा ट्रान्सफर्मर २५ दिनका लागि माग गरिएको छ । ट्रान्सफर्मर उपलब्ध भए बुधबारसम्म विद्युत सेवा नियमित हुने कम्पनीले जनाएको छ ।

वालिङमा समस्या आएको ट्रान्सफर्मर मर्मतका लागि बुटवल लगिएको छ । चट्याङका कारण ट्रान्सफर्मर बिग्रिएको स्थानीयको भनाइ छ । कम्पनीसँग वैकल्पिक ट्रान्सफर्मर नहुँदा चार दिनदेखि विद्युत सेवा ठप्प भएको हो ।

विद्युत अवरुद्धको असर जिल्लाभर परेको छ । वालिङस्थित इलाका प्रशासन कार्यालय, मालपोत कार्यालय तथा नापी कार्यालयले सूचना जारी गर्दै सेवा प्रभावित भएको जनाएका छन् । वालिङ नगरपालिकाको सेवा पूर्ण रूपमा प्रभावित भएको छ भने भीरकोट नगरपालिकाको सेवा आंशिक रूपमा प्रभावित बनेको छ ।

विद्युत नहुँदा सरकारी निकायसँगै साना उद्योगी–व्यवसायी, खानेपानी, सञ्चार क्षेत्र, बैंक तथा वित्तीय संस्थासमेत नराम्ररी प्रभावित भएका छन् ।

– राधाकृष्ण डुम्रे