04/18/2026, 18:15:52
शनिबार, बैशाख ०५, २०८३
जीवन्त र समृद्ध असं

‘असं’ अझ जीवन्त र समृद्ध

नुनदेखि सुनसम्म अर्थात् जन्मदेखि मत्युपर्यन्तका संस्कार र संस्कृतिमा चाहिने सामान पाइने ठाउँ, बिउ बिजन र बिरुवा पाइने ठाउँ, परम्परागत उपचार पद्धति भएको र आयुर्वेदिक औषधि ठाउँ अहिले नासिएको छ । अब त्यसैलाई पुनर्उत्थान गर्नु परेको छ ।


काठमाडौँ, वैशाख ६ गते । चाडपर्वमा असन जस्तो देखिन्थ्यो, शनिबार त्यस्तै देखिन्थ्यो । अझ त्यसमाथि सवारी साधन पनि निषेध । असनलाई छोएर कमलाक्षी, भोटाहिटी र महाबौद्धमा ‘जीवन्त र समृद्ध असं’  मनाइएको छ । असं अर्थात् नेपाल भाषामा असन । यो नयाँ प्रयोग अबका शनिबार पनि लागू गर्ने प्रयास हुनेछ ।

काठमाडौं महानगरपालिकाको आयोजनामा सुरु भएको यस कार्यक्रमको उद्देश्य हो, पुर्खाको ज्ञान, सिपमा आधारित धार्मिक, सांस्कृतिक र सामाजिक जीवन शैलीको पुनर्उत्थान । महानगरपालिकाको थप भनाइ रहेको छ, नुनदेखि सुनसम्म अर्थात् जन्मदेखि मत्युपर्यन्तका संस्कार र संस्कृतिमा चाहिने सामान पाइने ठाउँ, बिउ बिजन र बिरुवा पाइने ठाउँ, परम्परागत उपचार पद्धति भएको र आयुर्वेदिक औषधि ठाउँ अहिले नासिएको छ । अब त्यसैलाई पुनर्उत्थान गर्नु परेको छ ।

महानगरलाई लागेको छ, यो कार्यक्रमले स्थानीयवासीको उद्यमशीलता तथा व्यावसायिक विकास हुनेछ ।

त्यसको अर्थ हो, असनलाई आफ्नो पुरानो मौलिकतामा फर्कने प्रयासमा हुनेछ । यसै क्रममा असनका सडक सडकमा परम्परागत मौलिक खाना मात्र उपलब्ध हुने छैन, धिमे बाजा पनि सुन्न पाइने छ, नृत्य पनि हेर्न पाइने छ । यसै क्रममा शनिबार असनलाई सवारी साधनमुक्त गर्ने प्रयास पनि सुरु भएको हो ।

हाँडीगाउँमा चलिरहेको यस्तै कार्यक्रमलाई पछ्याएर अब असनमा पनि सुरु भएको हो । त्यसैले कार्यक्रममा सहभागी हुन चाहनेले धरहरा, दरबार हाइस्कुल अथवा अन्य तोकिएको स्थानमा सवारी पार्किङ गर्नु पर्नेछ र त्यसपछि असको पैदल यात्रा गर्नु पर्नेछ ।

यो कार्यक्रममा वडा नम्बर २७ मात्र होइन्, नेपाली फुटबल इतिहासकै सबैभन्दा जेठो क्लबमध्ये एक रहेको अन्नपूर्ण आरसीटी र स्थानीयको पनि सक्रिय सहभागिता रहेको छ । शनिबारदेखि नै असनमा निःशुल्क वाटर एटीएम मेसिन  पनि सुरु भएको छ । यसक्रममा असनसँगै अन्य स्थानमा आठ बुथ राखिएका छन् । त्यसबाट पिउनयोग्य गुणस्तरीय पानी पाइनेछ ।

– हिमेश