काठमाडौँ, चैत ३० गते । भारतीय पाश्र्वगायनकी शिखर व्यक्तित्व आशा भोसलेको कोकिलकण्ठी आवाज गुञ्जिरहे पनि उहाँको भौतिक शरीरले यस धराबाट विश्राम लिएको छ । करोडौँका मनमा अमिट छाप छाड्न सफल आशाका कर्णप्रिय स्वरले साङ्गीतिक मनहरूलाई युग युगसम्म उद्वेलित बनाइनै रहने छ । जसको स्वरमाधुरी आवाजले नेपाली सङ्गीत पारखीलाई बर्सौंदेखि मुग्ध पारिरहेको थियो ।
करोडौँ मनमुटुलाई आफ्नो जादुमयी स्वरले हल्लाइदिने आशा नेपाली गीतसङ्गीत अनुरागीका लागि पनि उत्तिकै रुचाइने नाम हो । जोसँग नेपाली गीतसङ्गीतको साइनो सम्बन्ध दशकौँ पुरानो छ ।
वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर
यो हो मेरो प्राणभन्दा प्यारो
माइतीघर माइतीघर माइतीघर
चलचित्र ‘माइतीघर’ (सन् १९६६) को यही गीत गाएर आशाले नेपाली सङ्गीतमा साइनो जोड्नुभएको हो । किरण खरेलको शब्द र जयदेवको सङ्गीतमा गाइएको यो गीतले माइतीघर छाड्दै गर्दा कुन नेपाली चेलीलाई रुवाएन होला र ? हो, आज त्यसै गरी भूगोल, भाषा र रङको परिधिभन्दा माथि उठेर आशाको बिदाइमा करोडौँ सङ्गीतप्रेमी उसै गरी रोइरहेका छन् ।
नेपाली गायनमा भोसलेको प्रवेश, निरन्तरता र सफलतामा नेपाली सङ्गीतका अग्रज पुस्ता र दिग्गजको महत्वपूर्ण भूमिका छ । विशेष गरी सङ्गीतकार रञ्जित गजमेरसँगको उहाँको सहकार्यले नेपाली सङ्गीतलाई स्वर्ण युगमा प्रवेश गरायो भन्न सकिन्छ । उहाँले मुम्बईमा बसेर पनि नेपाली भाषाको मर्म र लवजलाई टपक्क पक्रेर गाउनुभएका सयौँ गीत नेपाली मनमुटुलाई छुँदै भावनात्मक सम्बन्ध गाँस्न सफल मानिन्छन् ।
आशा भोसलेको एउटा विशेषता छ– नेपाली भाषाको उच्चारणमा शुद्धता । मोहनी लाग्ला है…, पहाडको माथि माथि घुम्दै उडेर…, किन बढ्दै छ ढुकढुकी मुटुको.., गैह्रीखेतको शिरै हान्यो… लगायत सयौँ गीतमा स्वर दिनुभएकी आशाले गाएका नेपाली गीत फरक भाषीले गाएको अनुभूति कहिल्यै भएन । मुम्बईकी अति नै व्यस्त गायिका भएर पनि नेपाली गीत गाउन भनेपछि समय व्यवस्थापन गरिहाल्ने आशाले खासमा त्यो स्नेह नेपाली सङ्गीतलाई दिनुभएको जीवन्त उपहार थियो । जसले मुम्बई र काठमाडौँबिच सङ्गीतको एउटा बलियो सेतुको काम गर्दै आएको थियो । सोही कारणले पनि नेपाली गीत, सङ्गीत र गायन कलालाई अन्तर्राष्ट्रिय स्तरमा चिनिन मद्दत पु¥याएको थियो ।
भोसलेको निधनको खबरले नेपाली सङ्गीत क्षेत्र मात्र होइन, सम्पूर्ण नेपाली जन-मानसलाई स्तब्ध बनाएको छ । उहाँको भौतिक शरीर हामीमाझ नरहे पनि उहाँको स्वरले दिएको अजम्बरी उपहार सधैँ जीवित रहने छ । उहाँको निधनले सङ्गीतको एउटा सिङ्गो युगको, एउटा अध्यायको अन्त्य भएको छ । नेपाली सङ्गीतको श्रीवृद्धिमा उहाँले पु¥याउनुभएको योगदानलाई इतिहासले सधैँ सम्मानका साथ स्मरण गरिरहने छ ।
निर्देशक तुलसी घिमिरेका अनुसार उहाँको योगदान गीत गाउनुमा सीमित थिएन, उहाँले नेपाली सङ्गीतलाई व्यापक दर्शकमाझ चिनाउन सहयोग गर्नुभएको छ । भारतीय रेडियो र क्यासेट संस्कृतिमा उहाँका गीतसँगै नेपाली गीत पनि सुन्ने वातावरण बनेको थियो ।
सन् १९३३ मा महाराष्ट्रमा जन्मिनुभएकी भोसलेको बाल्यकाल त्यति सहज थिएन । प्रसिद्ध गायक तथा नाटककार पण्डित दीनानाथ मङ्गेशकरकी छोरी उहाँको रगतमै सङ्गीत थियो । बाल्यकालमै पिताको निधन भएपछि परिवारको जिम्मेवारी काँधमा आएसँगै त्यहीँबाट सुरु भएको थिए आशाका असीमित सङ्घर्षका दिन ।
उहाँको स्वरले मिरमिरे साँझमा, एउटा मान्छे मन पर्छ, यति धेरै माया दियौ, आज हाम्रो भेट भाको दिन, को होला मेरो मायालु, साउने झरीमा, किन बढ्दै छ ढुकढुकी, पहाडको माथि माथि, तिम्रो मनमा लुकेको कुरा, तिमी मेरो म तिम्रो, तिम्रो आँखाको सागरमा... लगायत दर्जनौँ गीतले मनमा स्थान पाएका छन् ।
खास गरी स्वरसम्राट् नारायणगोपालसँग उहाँको युगल गायन निकै चर्चित थियो । चलचित्र ‘प्रेमपिण्ड’ को ‘गैरी खेतको शिरै हान्यो…’ ‘चिनो’ मा नारायणगोपालसँग गाउनुभएको ‘मोहनी लाग्ला है...’ र ‘स्वर्ग’ को ‘दियो बाली साँझको...’ गीतलाई नेपाली सङ्गीतप्रेमीले कहिले कसरी बिर्सना सक्ला र ? रञ्जित गजमेर, शम्भुजित बाँस्कोटा, कुसुम गजमेर, तुलसी घिमिरे, किरण खरेल, यादव खरेल आदिसँग उहाँले गीतहरूमा सहकार्य गर्नुभएको थियो ।
बलिउडको ‘पिया तू अब तो आजा…’, ‘दम मारो दम…’, ‘चुरा लिया है तुमने...’, जस्ता गीतले उहाँलाई सधैँ दर्शकमाझ सम्झने बनाउँछ । बलिउडका मात्र होइन, बङ्गाली, मराठी, गुजराती, पन्जाबी, अङ्ग्रेजी लगायत २० भन्दा बढी भाषामा आशाले गीत गाउनुभएको छ ।
नेपाली चलचित्र सङ्गीतलाई मूलधारको सङ्गीतभन्दा लोकप्रिय बनाउनुमा आशा भोसलेको स्वरको जादुले पनि महìवपूर्ण टेवा दिएको यथार्थलाई भुल्न सकिन्न ।
– सुकृत नेपाल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
