05/29/2026, 21:14:01
शुक्रबार, जेठ १५, २०८३

नयाँ हल खोल्नेलाई १० वर्षसम्म आयकर छुट


काठमाडौँ, जेठ १५ गते । महानगरपालिका र उपमहानगरपालिकाबाहेकका क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गर्नेलाई १० वर्षसम्म आयकर छुट दिने व्यवस्था गरिएको छ । संघीय संसद्‌मा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै ‘लगानी प्रोत्साहन र संरक्षण‘को क्षेत्रमा यो कर छुटको व्यवस्था गरिएको जनाएको हो ।

महानगरपालिका र उपमहानगरपालिकाबाहेकका क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गर्नेलाई सुरूको १० वर्षसम्म पूर्ण रूपले आयकर छुट दिने व्यवस्था मिलाएको छु,’बजेट भाषणमा मन्त्री वाग्लेले भने ।

त्यस्तै, संगीत कला तथा साहित्यसम्बन्धी अध्ययनलाई प्रवर्द्धन गर्दै एथ्नोम्युजिकोलोजी म्युजिक सेन्टर स्थापनाका लागि रकम छुट्याइएको पनि उनले घोषणा गरे । ‘संगीत कला तथा साहित्यसम्बन्धी अध्ययनलाई देशैभर प्रवर्द्धन गर्नेछौं । राजगुठी लगतमा दर्ता रहेको त्रिपुरेश्वर महादेव मन्दिर परिसरमा गुठी रिसर्च इन्स्टिच्युट एवं एथ्नोम्युजिकोलोजी म्युजिक सेन्टर स्थापनाका लागि रकम छुट्याएको छु,’वाग्लेले भने ।

यसअघि बजेटले महत्त्व दिँदै आएको बनेपा इन्डोर फिल्म स्टुडियोलाई भने यसपटक समेटिएको छैन ।