05/30/2026, 11:03:10
शनिबार, जेठ १६, २०८३

निराश नहुनु, पार्टी पुनर्गठन हुन्छ : एमाले अध्यक्ष ओली


काठमाडौँ, जेठ १६ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठन तथा पुनर्जागरणको कार्ययोजना अघि बढाइने बताएका छन्।

एमाले सचिवालयको जेठ ८ देखि १० गतेसम्म बसेको बैठकका निर्णय कार्यान्वयन गर्न जारी गरिएको अन्तरपार्टी निर्देशन (अपानी) मार्फत् ओलीले यस्तो बताएका हुन्।

ओलीले निर्वाचनमा व्यहोर्नुपरेको गम्भीर पराजयका कारण पार्टीको एक हिस्सा निराश र पलायन हुन खोजेको उल्लेख गर्दै पार्टीपंक्तिमा आशा र उत्साह जगाउन आवश्यक रहेको बताएका छन्।

निर्वाचनमा व्यहोर्नुपरेको गम्भीर पराजयका कारणले पार्टीको एउटा हिस्सा निराश र पलायन हुन खोजेको अवस्था छ। यसप्रकारको अवस्थामा सुधार ल्याउनु र पार्टीपंक्तिमा आशाको सञ्चार जागृत गर्नु आवश्यक छ,’ अपानीमा भनिएको छ।

उनले पार्टी समीक्षा प्रक्रियामा रहेको उल्लेख गर्दै आगामी केन्द्रीय कमिटी बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्ययोजना अघि बढाइने बताएका छन्।

नेताहरुको कार्यविभाजन

एमालेले अपानीमार्फत पार्टी पदाधिकारीहरूको कार्यविभाजनसमेत सार्वजनिक गरेको छ। अध्यक्ष ओलीले समग्र पार्टी कामको नेतृत्व गर्ने जिम्मेवारी पाएका छन् भने उपाध्यक्ष रामबहादुर थापाले सुशासन तथा सेवा प्रवाहसम्बद्ध विभाग, विष्णुप्रसाद पौडेलले पार्टीसम्बद्ध विभाग, पृथ्वीसुब्बा गुरुङले सामाजिक विकाससम्बद्ध विभाग, गोकर्णराज विष्टले पूर्वाधार विकाससम्बद्ध विभाग तथा रघुजी पन्तले मानवस्रोतसम्बद्ध विभागहरूको संयोजन गर्ने जिम्मेवारी पाएका छन्।

त्यस्तै महासचिव शंकर पोखरेललाई पार्टीको संगठनात्मक कामको संयोजन तथा केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ। उपमहासचिव लेखराज भट्टलाई समग्र प्रवास तथा योगेश भट्टराईलाई नीति तथा योजनासम्बद्ध विभागहरूको संयोजनको जिम्मेवारी दिइएको छ।

त्यसैगरी सचिव छविलाल विश्वकर्मालाई कृषि तथा उद्यमशीलतासम्बद्ध विभागहरूको संयोजन र लुम्बिनी प्रदेश इञ्चार्ज, पद्माकुमारी अर्याललाई संसदीय मामला विभाग प्रमुख, खगराज अधिकारीलाई गण्डकी प्रदेश इञ्चार्ज, भानुभक्त ढकाललाई संगठन विभाग प्रमुख, यमलाल कँडेललाई कर्णाली प्रदेश इञ्चार्ज, शेरधन राईलाई कोशी प्रदेश इञ्चार्ज, हिक्मतकुमार कार्कीलाई वागमती प्रदेश इञ्चार्ज तथा महेश बस्नेतलाई राजधानी विशेष प्रदेश इञ्चार्ज र विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ।

– गंगा बीसी