05/30/2026, 09:21:33
शनिबार, जेठ १६, २०८३

बजेटप्रति मिश्रित प्रतिक्रिया, व्यावसायिक क्षेत्र उत्साहित


धनगढी, जेठ १६ गते । नेपाल सरकारका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति सुदूरपश्चिम प्रदेशमा मिश्रित प्रतिक्रिया आएको छ। व्यावसायिक क्षेत्रले बजेटलाई सकारात्मक रूपमा लिएको छ भने कार्यान्वयन पक्षलाई लिएर विभिन्न सरोकारवालाले चासो व्यक्त गरेका छन्।

कार्यान्वयनको व्यवहारिक पक्ष हेर्नुपर्छ : मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले वर्तमान सरकारप्रति जनताको ठूलो आशा, अपेक्षा र विश्वास रहेको उल्लेख गर्दै बजेटमा सुदूरपश्चिमलाई समेट्ने प्रयास गरिएको बताउनुभयो।

बजेटबारे प्रतिक्रिया दिँदै उहाँले सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो। बजेटको कार्यान्वयन र स्रोत सुनिश्चितता स्पष्ट भएपछि मात्र थप टिप्पणी गर्न सकिने उहाँको भनाइ छ।

मुख्यमन्त्री शाहले गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई बजेटमा समेटिएकोमा खुसी व्यक्त गर्दै रातो किताबमा यससम्बन्धी व्यवस्था कसरी समेटिन्छ भन्ने हेर्न बाँकी रहेको बताउनुभयो। उहाँले बजेट घाटामा आधारित रहेको र स्रोत सुनिश्चितताको चुनौती रहेको उल्लेख गर्दै यसको कार्यान्वयन पक्ष महत्त्वपूर्ण हुने धारणा राख्नुभयो।

सैद्धान्तिक रूपमा राम्रो बजेट : सहप्राध्यापक डा. चलाउने

सुदूरपश्चिम विश्वविद्यालयका सहप्राध्यापक डा. भवानसिंह चलाउनेले बजेट सैद्धान्तिक रूपमा राम्रो रहेको बताउनुभयो।

उहाँका अनुसार बजेटले अधिकांश क्षेत्रलाई समेट्ने प्रयास गरेको छ। सुदूरपश्चिमको आयआर्जनको आधार बन्न सक्ने धार्मिक तथा पर्यटकीय क्षेत्रको पूर्वाधार विकासका लागि बजेट विनियोजन हुनु सकारात्मक पक्ष हो। साथै गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयमा स्नातक तहका चार विषयको पढाइ सुरु गर्ने घोषणा पनि स्वागतयोग्य रहेको उहाँले बताउनुभयो।

डा. चलाउनेले रोजगारी सिर्जना, शिक्षामा लगानी तथा स्वदेशी उत्पादन प्रवद्र्धनमा बजेट अझ प्रभावकारी हुनुपर्ने आवश्यकता औँल्याउनुभयो। उचित व्यवस्थापन गर्न सके घाटा बजेटको चुनौती सामना गर्न सकिने उहाँको भनाइ छ।

बडीमालिकालगायत क्षेत्र समेटिनु सकारात्मक : उपप्रमुख थापा

बाजुराको बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा थापाले बडीमालिकासहित धार्मिक तथा पर्यटकीय क्षेत्रलाई बजेटमा समेटिनु सकारात्मक प्रयास भएको बताउनुभयो। उहाँले बडीमालिका क्षेत्रको समग्र विकासमा बजेटले ध्यान दिएको देखिएको र यसबाट आन्तरिक आय वृद्धि तथा रोजगारी सिर्जनामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले बजेट प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै विगतमा समानीकरण अनुदानको रकमसमेत पूर्ण रूपमा खर्च गर्न नदिइने अवस्था अन्त्य हुनुपर्ने धारणा राख्नुभयो।

व्यवसायीका हितमा बजेट : व्यवसायी विष्ट

कैलाली उद्योग वाणिज्य सङ्घका पूर्वमहासचिव ओम विष्टले बजेट विगतको तुलनामा व्यवसायीमैत्री रहेको बताउनुभयो। उहाँले राजस्व सङ्कलनको महत्वाकाङ्क्षी लक्ष्यका कारण बजेटलाई व्यवसायीको हित-अनुकूल बनाइएको हुन सक्ने धारणा राख्नुभयो। साथै विश्व अर्थतन्त्रको अवस्थाले पनि बजेट कार्यान्वयनमा प्रभाव पार्ने बताउनुभयो।

बजेट महत्वाकाङ्क्षी छ। प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके देशका लागि लाभदायक हुन सक्छ,” उहाँले भन्नुभयो।

तर सुदूरपश्चिमको बेरोजगारी समस्या समाधान गर्न तथा युवालाई विदेश पलायन हुनबाट रोक्न ठोस कार्यक्रम नदेखिएको उहाँको टिप्पणी छ। बजेटले विगतझैँ रेमिट्यान्समा बढी निर्भरता कायम राख्न खोजेको हो कि भन्ने आशङ्का पनि उहाँले व्यक्त गर्नुभयो।

बडिकेदार क्षेत्र नसमेटिएकोमा गुनासो

सुदूरपश्चिमका खप्तड, रामारोशन, बडीमालिका, उग्रतारा, शैलेश्वरी र मल्लिकार्जुन क्षेत्रलाई बजेटमा समेटिए पनि डोटीको प्रसिद्ध बडिकेदार क्षेत्र छुटेको भन्दै स्थानीय सरोकारवालाले असन्तुष्टि जनाएका छन्।

बडिकेदार क्षेत्र पर्यटन विकास समितिका अध्यक्ष उपेन्द्र बमले विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रलाई बजेटमा समावेश नगरिएकोमा दुःख व्यक्त गर्नुभएको छ। उहाँले बडिकेदार क्षेत्रको विकासका लागि स्थानीयवासी एकजुट भएर सरकारसमक्ष दबाब सिर्जना गर्नुपर्ने धारणा पनि राख्नुभएको छ।

– प्रकाशविक्रम शाह