05/29/2026, 22:34:03
शुक्रबार, जेठ १५, २०८३

“बजेटले सबै क्षेत्रलाई समेट्ने प्रयास गरेको छ”


काठमाडौँ, जेठ १५ गते ।  सरकारले शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ।

सङ्घीय संसदमा बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा‍. स्वर्णिम वाग्ले ले सरकार आर्थिक सुधारको निर्णायक मोडमा उभिएको, करका दरमा पुनरावलोकन गरिएको तथा नीतिगत सुधारमा जोड दिइएको बताउनुभयो ।

सरकारद्वारा प्रस्तुत बजेटले सरकारी, निजी र सामाजिक सबै क्षेत्रको विषय सम्बोधन गर्न खोजिएको सरोकारवालाले टिप्पणी गरेका छन् ।

पूर्वमन्त्री तथा पूर्व राजदूत डा. भेषबहादुर थापा ले बजेटमा सरकारी, निजी तथा सामाजिक सबै क्षेत्रलाई सम्बोधन गर्न खोजिएको बताउनुभयो । थापाले भन्नुभयो, “कार्यान्वयनको पक्ष हेर्न बाँकी छ तर सुरुवात राम्रो छ । सरकारी क्षेत्र मात्रै होइन, निजी र सामाजिक क्षेत्रलाई पनि सम्बोधन गरेको छ । चुनौती व्यापक छ तर सुरुवात राम्रो छ ।

यसैगरी, पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा ले बजेटमा व्यवस्था गरिएका नयाँ प्रबन्ध तथा यसको विकास र आर्थिक वृद्धिले सबैलाई लाभ पुग्ने स्थिती हुन्छ या हुँदैन भन्ने विषय हेर्न बाँकी रहेको बताउनुभयो । डा. खतिवडाले भन्नुभयो, “कर छुट दिएका विषयले अथवा सामाजिक सुरक्षामा गरिएका नयाँ प्रबन्धले अथवा निजी क्षेत्र प्रोत्साहनमा गरिएका प्रबन्धले आमरुपमा भुँइका, ग्रासरुटका मान्छेहरुलाई कतिसम्म माथि लैजान सहयोग पुर्‍याउँछ यो चाहिँ पछि हामीले हेर्नुपर्छ । यी सबै कुरा कार्यान्वयन गर्न सकिन्छ त भन्ने प्रश्न हो ।

उच्च आर्थिक वृद्धिका लागि मध्यम वर्गको उत्थान र विकासबाट समृद्धिमा जाने तथा निजी क्षेत्रलाई सहुलियत दिएर विकासको गति अघि बढाउने कुराले सबै क्षेत्रमा लाभ पुग्ने स्थिती हुन्छ या हुँदैन भन्ने उहाँको प्रश्न छ ।

पूर्व अर्थमन्त्री जनार्दन शर्मा ले बजेटमा सरकारले गरेको राजनीतिक प्रतिबद्धता सम्बोधन गर्ने प्रयत्न भएको बताउनुभयो । शर्माले भन्नुभयो, “सरकारको राजनीतिक प्रतिबद्धता अनुसार, वाचालाई सम्बोधन गर्ने प्रयत्न गरेको मैले पाएँ । त्यसैगरी, नीतिगत सुधारका क्षेत्रमा धेरै कुरा अगाडि आएका छन् । धेरै कानुनका सुधार गर्नुपर्ने कुरामा जोड दिइएको छ ।

मध्यम वर्गको विकास गर्ने लक्ष्य र त्यसपछि रोजगारी वृद्धि गर्ने उद्देश्यमा बजेट केन्द्रित भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “दुईतिहाइको सही सदुपयोग भएमा आर्थिक विकास, सुशासनका क्षेत्रमा सकारात्मक परिणाम देखिनेछन् । कृषि, पर्यटन, ऊर्जा र औद्योगिक क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ । नवप्रवर्द्धन, डिजिटल अर्थतन्त्र, कृषि , कृत्रिम बौद्धिकता समेतको प्रयोग गर्ने कुरामा जोड दिइएको छ । पुँजी बजार, डायस्पोरासहितका निजी क्षेत्रलाई प्रोत्साहन गर्ने प्रतिबद्धता पनि बजेटमा देखिएको छ ।

यससँगै सात प्रतिशत आर्थिक वृद्धिका लागि आवश्यक लगानीको चुनौती भने देखिएको उहाँको भनाइ छ ।

– सपना थामी