काठमाडौँ, जेठ १२ गते । एक थिएटर नेपालमा मञ्चनरत नाटक ‘लुसिफर राइजिङ’ को मञ्चन अनिश्चितकालका लागि रोकिएको छ ।
यसअघि राजनीतिक दबाबका कारण भनिए पनि भीडका कारण नाटक रोकिएको स्पष्टीकरण बाहिरिएको छ । नाट्य समूह मझुवा बगरले सामाजिक सञ्जालमा भीडकै कारण आफूहरूले नाटकको मञ्चन रोकेको जनाएको छ ।
‘भीडको राजनीति हुँदैन । भीडले सरकार बनाउन सक्छ, तर भीडले बनाएको सरकारको कन्ट्रोलमा भीड बसिरहन सक्छ ? लुसिफर राइजिङको प्रदर्शन रोक्ने कुनै आधिकारिक सरकारी निकाय होइन, कुनै अमूक राजनीतिक दल पनि होइन । अँध्यारोभित्र बस्ने शैतान हो जो सुरुमा मस्तिष्क र बिस्तारै शरीरमा प्रवेश गर्दछ,’ मझुवा बगर नामको इन्स्टाग्राममा सार्वजनिक एक पोस्टमा यस्तो लेखिएको छ । जसलाई नाटकका निर्देशक सहलेशका भनाइका रूपमा प्रस्तुत गरिएको छ ।


उक्त स्पष्टीकरण पत्रमा ‘लुसिफर राइजिङ’ नाटक कुनै व्यक्तिको उदयको भन्दा पनि अँध्यारो प्रवृत्तिबारे रहेको जनाइएको छ । यो अँध्यारो प्रवृत्ति शरीरमा प्रवेश गर्ने हुँदा यही शरीर नै भीडको एकाइ भएको हो भन्ने बिम्बात्मक तरिकाले भीडकै कारण आफूहरूले नाटक बन्द गरेको सहलेश लेख्छन् । तर, यो पोस्टमा सिधा-सिधा केही उल्लेख गरिएको छैन । त्यसैले अन्त्यतिर सहलेश लेख्छन्, ‘भीडको सामु लेखकले आत्मसमर्पण गरेको जानकारी गराउँछ । कृपया शान्त छोडिदिनुहोला, हरेक शोपछि नाटकको अन्त्य हुन्छ, नाटक सकिसक्यो ।’
यसअघि भने मझुवा बगरले अज्ञात राजनीतिक व्यक्तिको दबाबका कारण नाटक रोकेको जानकारी गराएको थियो । ‘अज्ञात राजनीतिक व्यक्ति, प्रवृत्ति र समूहको दबाबका कारणले नाटक लुसिफर राइजिङको शो रोक्न बाध्य भएका छौं । यसका लागि नाटक हेर्न आउनुभएका दर्शकप्रति क्षमाप्रार्थी छौं,’ निर्माण टोलीले जारी गरेको सूचनामा यस्तो लेखिएको थियो ।


नाटकमा अभिनय गरेका कलाकार मिलन खड्काका अनुसार यो नाटकले सुकुम्बासी बस्तीमा बस्दै आएका दुई पात्रको कथा समेट्नेछ । जेन-जी आन्दोलनपछिको घटना समावेश यो नाटकमा दुर्व्यसनमा फसेका महिला र पुरुष पात्रको कथा देखाइएको छ । जेन-जी आन्दोलनपछि नराम्रो तत्त्व उदाउन खोजेको विषयलाई नाटकमा समावेश गरिएको खड्का सुनाउँछन् । तर, निर्देशकले बिना सूचना नाटकमा नयाँ पात्रलाई समावेश गरेसँगै आफूले यो नाटक शनिबारदेखि छाडेको मिलन सुनाउँछन् ।
‘मैले नाटकको टाइटलबारे निर्देशकसँग प्रश्न गर्दा उहाँले लुसिफर भनेको शैतान हो । अहिले यो नाम भाइरल पनि छ त्यसैले प्रयोग गरे भनेर भन्नुभएको थियो,’ खड्काले भने । खड्काका अनुसार ३ शोपछि निर्देशक सहलेशले नाटकमा नयाँ चरित्र थपे । जसले नयाँ सरकारको प्रतिनिधित्व गर्थ्यो । निर्देशकको यही कदमपछि मिलन यो नाटकबाट बाहिरिएका हुन् ।


मञ्चनरत नाटक बन्द भइसकेपछि अहिले कलाकार वर्तमान परिस्थितिसँग अनभिज्ञ रहेको उनले सुनाए । ‘यो के भइरहेको भन्नेबारे कलाकार नै अनभिज्ञ हुनुहुन्छ,’ खड्काले भने । जेठ १ देखि यो नाटक मञ्चनमा आएको हो । आइतबारको शोपछि भने मञ्चन बन्द गराउने निर्णयमा समूह पुगेको हो ।
सोमबार नै एक थिएटरले भने ‘लुसिफर राइजिङ’लाई आएको दबाबबारे आफूहरू अनभिज्ञ रहेको जनाएको छ । ‘तर कस्तो दबाब आयो ? किन त्यस्तो दबाब आयो ? र उक्त दबाब दिने समूह को हुन सक्छ ? वा दबाब कति नम्बरबाट आएको हो ? यस सन्दर्भमा नाटक घर उपलब्ध गराउने एक थिएटर नेपालका कुनै पनि सदस्यहरूलाई व्यक्तिगत वा संस्थागत जानकारी नभएको स्पष्ट गर्दछौं,’ एक थिएटर नेपालले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको सूचनामा यस्तो लेखिएको छ ।
– रीना मोक्तान
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

































