04/10/2026, 12:12:03
शुक्रबार, चैत २७, २०८२

तारमा बाँधेर कर्णाली नदी पार गर्‍यो खानेपानी


हुम्ला, चैत २७ गते । सर्केगाड गाउँपालिका–२ को खडीखेतका स्थानीयका लागि रिपगाउँबाट ल्याएको पाइपलाई तारमा बाँधेर कर्णाली नदी पार गराई खानेपानीको व्यवस्था गरिएको छ । जहाँ इच्छा त्यहाँ उपाय भने झैँ स्थानीयले नयाँ जुक्ति निकालेर तारमा खानेपानीको पाइप बाँधेर पानी ल्याउने व्यवस्था गरेको छ ।

खडीखेतका स्थानीय झग फडेराले खानेपानीको समस्या भएपछि आफ्नै लागनीमा रिप गाउँको मुहानबाट खानेपानीको पाइप ल्याएर ल्याएर कर्णाली नदीमा पार गर्न तारमा सो पाइप बाँधेर खानेपानी आपूर्ति गरेको बताउनुभयो । नजिकै कर्णाली नदी बग्ने भए पनि त्यसको पानी धमिलो छ । त्यसका लागि सफा पानी ल्याउन यस्तो व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । यति व्यवस्था नगरेको भए त्यही कर्णालीको फोहर पानी खानुपर्ने अवस्था रहन्थ्यो ।

blog

खडीखेतमा कर्णाली कोरिडोरको सडकले छोएको छ । कर्णाली कोरिडोरको सडक निर्माण भएर सञ्चालनमा आएपछि रिपगाउँका स्थानीय सो स्थानमा बस्न थालेका छन् । हाल सो स्थानमा १५ परिवारको बसोबास हुँदै आएको छ । ती सबै परिवारले यसरी नदीमा पार गरेर ल्याएको पाइपको पानी प्रयोग गर्दै आउनुभएको छ । खडीखेतमा बस्ने मानिस मात्र नभएर सडक जोडिएका कारण पैदलदेखि यातायातका साधनमा यात्रा गर्ने यात्रुले समेत सो पानी प्रयोग गर्दै आएका छन् ।

स्थानीय मुसी फडेराले खानेपानीको अल्पकालीन व्यवस्था भए पनि अब दीर्घकालीन समस्यातिर पनि सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । सो स्थानका स्थानीय रिप र उनापानी गाउँ जानुपर्ने भए तुइन चढ्नुपर्ने अवस्था छ ।