काठमाडौँ, फाल्गुन १९ : आसन्न निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यका छाडेर विभिन्न जिल्ला जानेको संख्या दैनिक बढ्दो छ । केही दिनयता यात्रुको सबैभन्दा बढी भीड गोंगबुस्थित नयाँ बसपार्कमा लाग्दै आएको छ । चावहिल, कोटेश्वर, कलंकी, बल्खु र बालाजुमा पनि उपत्यकाबाट बाहिरिने यात्रु र सवारीको चाप बढी छ ।
नयाँ बसपार्कबाट आइतबार मात्र ४ सय ८० वटा माइक्रो र यात्रुवाहक बस बाहिरिएका छन् । आइतबार र सोमबार सवारी चापले नागढुंगा–नौबिसे र बीपी राजमार्गमा घण्टौं ट्राफिक जाम भएको थियो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार फागुन १० देखि १७ गतेसम्म आठ दिनमा उपत्यकाबाट ३ लाख ५३ हजार ४६ यात्रु बाहिरिएका छन् ।
आइतबार धेरै नै यात्रु बाहिरिएको नयाँ बसपार्कस्थित ल्होत्से बहुउद्देश्यीय प्रालिका पंकज मल्लले बताए । ‘आइतबार मात्र ४ सय ८० यात्रुवाहक गाडी बसपार्कबाट बाहिरिए, अघिपछि सामान्य अवस्थामा दैनिक ३ सयदेखि साढे ३ सय मात्र गाडी बाहिरिने गर्थे,’ उनले भने, ‘चार दिनमा बसपार्कबाट चुनावका लागि मात्रै डेढ लाख यात्रु टिकट काटेर बाहिरिएका छन् ।’

यो पटक धेरै दिन सार्वजनिक बिदा र चुनाव पनि परेकाले धेरै यात्रु बाहिरिएको उनको भनाइ छ । ‘दसैं जस्तै यात्रु बाहिरिएका छन्, त्यत्तिकै भीड छ,’ उनले भने, ‘दसैं नै आए जस्तो भएको छ ।’ मंगलबारसम्म दिवा तथा रात्रिबस चल्ने र चुनावले गर्दा बुधबार रात्रिबस नचल्ने उनले बताए । ‘बुधबार छोटा दूरीका यात्रुबस राति १२ बजेअघि पुग्ने ठाउँमा मात्र यात्रु लिएर जानेछन्,’ उनले भने ।
निर्वाचनका लागि करिब साढे ९ लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिने अनुमान रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले बताए । ‘यही बेला धेरै दिन सार्वजनिक बिदा भयो,’ उनले भने, ‘जसले गर्दा मतदान गर्न उत्साहका साथ जानेको संख्या धेरै छ ।’ आफ्नै हिसाबले गाडी रिजर्भ गरेर जाने धेरै रहेको उनको भनाइ छ ।

‘मधेश र पहाडमा दुई दिन होली र २१ गते हुने निर्वाचनका लागि सार्वजनिक बिदा भएकाले पनि बाहिरिने यात्रुको संख्या धेरै छ,’ उनले भने, ‘जिप, मिनिबस, माइक्रो र यात्रुबस रिजर्भ गरेर जाने धेरै छन्, जाने क्रम चलिरहेको छ ।’ अहिले काठमाडौं उपत्यकाका सार्वजनिक सवारीसाधन अस्थायी बाटो इजाजतपत्र (पटके) लिएर रिजर्भमा गएका छन् । जसले गर्दा उपत्यकामा गुड्ने सवारीसाधनको चाप पातलो छ । ‘पार्टीहरूले यो पटक चुनावमा यात्रु बोक्न भनेर गाडी मागेका छैनन्,’ सिटौलाले भने, ‘आफैं समूह बनाई रिजर्भ लिएर जाने धेरै छन् ।’
अहिले माइक्रो, जिप, ठूला यात्रुबस, मिनिबस, मोटरसाइकल र हवाईजहाजमार्फत विभिन्न जिल्लामा मतदाता गइरहेका छन् । केही दिनयता उपत्यकाबाट बाहिरिने यात्रुको चाप दसैंकै जस्तो रहेको सिटौलाले बताए । ‘चुनावका बेला उपत्यकाबाट बाहिरिने यात्रु र सवारीसाधनको चाप बढी छ,’ उनले भने, ‘यस्तो बेला अघिपछि भन्दा दुर्घटनाको जोखिम बढी हुन्छ, ग्रामीण सडकको अवस्था कमजोर छ, अप्ठ्यारा छन्, कच्ची छन्, त्यस्तो ठाउँमा जबरजस्ती गरेर चालकले गाडी नलग्न र यात्रुले पनि चालकलाई जानका लागि दबाब दिन भएन ।’

काठमाडौंबाट बाहिरिने सवारीसाधनको व्यवस्थापन गर्न सीमित रूपमा रहेका ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको छ । उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढी रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले बताए ।
‘नागढुंगा नाकाबाट धेरै यात्रु बाहिरिएका छन्,’ उनले भने, ‘चुनाव र होली एउटै समयमा परेकाले उपत्यकाबाट बाहिरिने सवारीसाधनको संख्या धेरै छ, जसले गर्दा अहिले उपत्यकाभित्र गुड्ने सार्वजनिक सवारीसाधनको संख्या कम छ ।’
मुख्य–मुख्य ठाउँमा ट्राफिक प्रहरी परिचालित छन् । ‘ट्राफिक प्रहरी निर्वाचन सुरक्षाका लागि धेरै ठाउँमा परिचालित छन्,’ उनले भने, ‘सीमित जनशक्तिमार्फत ट्राफिक व्यवस्थापन गरिरहेका छौं, त्यस्तो कुनै समस्या छैन ।’ ट्राफिक प्रहरीले नागढुंगा, भक्तपुरको जगाती, फर्पिङ र चापागाउँ नाकाबाट बाहिरिनेको तथ्यांक राख्ने गरेको छ । ट्राफिक प्रहरीका अनुसार मोटरसाइकल र स्कुटरमा बाहिरिने यात्रुको लगत भने हुँदैन ।
– विमल खतिवडा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
