04/06/2026, 04:48:05
आइतबार, चैत २२, २०८२

सूर्यसँगै अस्ताउँछ टावरको सङ्केत !


१९ साउन, शिवालय (जाजरकोट) : जिल्लाको शिवालय गाउँपालिकामा विगत दुई महिनादेखि रात र बिहानको समयमा मोबाइल नेटवर्क बन्द हुने गरेको छ । साँझ घाम अस्ताएलगत्तै नेटवर्क हराउने र भोलिपल्ट बिहान घाम लागेपछि मात्रै पुनः सुचारु हुने स्थानीयले गुनासो गरेका छन् ।

साँझ घाम अस्ताएलगत्तै मोबाइल नेटवर्क हराउने र भोलिपल्ट बिहान ७ बजेतिर मात्र पुनः सुचारु हुने गरेको पश्चिम जाजरकोट विकास समाज शिवालय गाउँपालिका कार्यक्रम व्यवस्थापक रामप्रसाद जैसीले बताउनुभयो । उहाँले साँझ ६ बजेदेखि नेटवर्क गायब हुने र घाम नलागेका दिन वा पानी परेको बेलामा दिउँसै पनि सिग्नल हराउने गरेको जानकारी दिनुभयो ।

यो समस्याले बिरामी परेका व्यक्तिलाई उपचारका लागि खबर गर्न, आकस्मिक घटना जानकारी दिन र आपत्कालीन सेवाहरू लिनसमेत गाह्रो भएको छ । “अलिकति मात्र पानी परे वा बादल लागे पनि नेटवर्क बन्द हुन्छ,” उहाँले भन्नुभयो, “स्थानीयले कम्तीमा नेपाल टेलिकमलाई फोन गरेर दबाब दिनुपर्ने देखिन्छ ।” शिवालय–५ का स्थानीय महेन्द्र शाहीले पनि पानी परेको वा बादल लागेको दिनमा दिउँसै नेटवर्क हराउने गुनासो गर्नुभयो ।

उहाँका अनुसार घाम लागेको दिन बेलुकी ८ बजेसम्म सेवा उपलब्ध हुने भए पनि पानी परेको वा बादल लागेको दिनमा दिउँसै नेटवर्क हराउने गर्छ । “फोनमा कुरा हुने हो भने पनि त्यो घाम लागेको दिन मात्रै हो, बाँकी समय त कामै गर्दैन,” उहाँले भन्नुभयो । अर्का स्थानीय झकेन्द्र शाहीले पनि उस्तै गुनासो पोख्नुभयो । उहाँले भन्नुभयो, “घाम लागेको दिनमा दिनभर चलेको नेटवर्क साँझ ५ बजेपछि राति त जहिल्यै पनि नेटवर्क बन्द हुन्छ ।

यो समस्या केही व्यक्तिको मात्र नभई गाउँपालिकाभरको हो । शिवालय गाउँपालिकाकी उपाध्यक्ष गीता शाहीले गाउँको टेलिकम टावर सौर्य ऊर्जाबाट सञ्चालन हुने भएकाले पानी परेको बेला ब्याट्रीको चार्ज सकिँदा नेटवर्क बन्द हुने गरेको बताउनुभयो । “सोलारबाट चल्ने टावरमा लगातार घाम नलाग्दा ब्याट्री चार्ज नहुने समस्या हुन्छ,” उहाँले भन्नुभयो, “चार्ज सकिएपछि टावर आफैँ बन्द हुन्छ ।” उहाँले नयाँ ब्याट्री जडानका लागि नेपाल टेलिकमलाई आग्रह गरे पनि हालसम्म चासो नदिएको आरोप लगाउनुभयो ।

यता नेपाल टेलिकम जाजरकोटका इन्जिनियर प्रकाश उपाध्यायले प्राविधिक समस्याका कारण नेटवर्क जाने गरेको बताउनुभयो । “त्यहाँको टेलिकमको टावर सोलारबाट चल्ने हुँदा घाम अस्ताएपछि नेटवर्क जाने समस्या भएको हो,” उहाँले भन्नुभयो, “अहिले पानी पर्छ खासै घाम नलाग्ने भएर ब्याकअपले नधानेर बेलुकै नेटवर्क जाने समस्या आएको हो ।” उहाँले विद्युत्बाट टावर सुचारु गर्न सकेमा धेरै सहज हुने जनाउनुभयो । साथै यसै वर्ष त्यहाँ नयाँ ब्याट्री थप्ने तयारी छ । उहाँले यस्तो समस्या शिवालयमा मात्र नभर्ई जाजरकोटका धेरै ठाउँमा भएको बताउनुभयो ।