09/25/2026, 13:08:52
शुक्रबार, असोज ०९, २०८३

देशभर बदली र वर्षाको सम्भावना, केही प्रदेशमा अति भारी वर्षाको चेतावनी


काठमाडौँ, असोज ९ गते । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभरको मौसम सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भू–भागका अधिकांश स्थानमा तथा सुदूरपश्चिमका हिमाली भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भाग, कर्णालीका पहाडी भू–भागका अधिकांश स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। मधेशका केही स्थान तथा सुदूरपश्चिमका पहाडी र तराई भू–भागका धेरै स्थानमा समेत वर्षा हुने विभागले जनाएको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। त्यस्तै, लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। मधेश प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा हावाहुरीसमेत चल्न सक्ने विभागले जनाएको छ।

राति पनि वर्षाको सम्भावना

आज राति पनि देशभर अधिकांश भू–भागमा बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका अधिकांश स्थान तथा कोशी र बागमतीका हिमाली भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

रातिको समयमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

मौसम प्रणालीको अवस्था

विभागका अनुसार हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ आसपासमा रहेको बलियो न्यून चापीय प्रणाली (Depression) उत्तर–उत्तरपश्चिमतर्फ सर्दै आगामी २४ घण्टामा क्रमशः कमजोर हुने सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ।