09/04/2026, 10:03:15
शुक्रबार, भदौ १९, २०८३

काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको मूल्य वृद्धि, प्रति सिलिन्डर कति पुग्यो?


काठमाडौँ, भदौ १९ गते । नेपाल एलपी ग्यास उद्योग सङ्घले काठमाडौँ उपत्यकाका लागि खाना पकाउने एलपी ग्यास सिलिन्डरको मूल्य बढाएको छ।

बिहीबार बसेको सङ्घको बैठकले प्रति सिलिन्डर १०५ रुपियाँ ३८ पैसा थप गरी नयाँ मूल्य दुई हजार १६५ रुपियाँ ३८ पैसा निर्धारण गरेको हो। यसअघि प्रति सिलिन्डर ग्यासको मूल्य दुई हजार ६० रुपियाँ रहेको थियो।

पृथ्वी राजमार्गको कृष्णभिरमा गएको पहिरोका कारण नियमित मार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्ग प्रयोग गर्नु परेकाले ढुवानी लागत बढेकाले मूल्य वृद्धि गर्नुपरेको सङ्घले जनाएको छ। पहिरोपछि नेपाल आयल निगमले उपत्यकामा ग्यास आपूर्ति गर्ने उद्योगहरूलाई मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषाका उद्योगबाट भरण गरी वैकल्पिक बाटो भित्र्याउन अनुमति दिएको थियो।

यसैबीच, एलपी ग्यास उद्योग सङ्घले हालको विषम परिस्थितिलाई ध्यानमा राख्दै ग्यास उद्योगी तथा विक्रेताहरूलाई नयाँ सिलिन्डर बिक्री नगर्नसमेत आग्रह गरेको छ।