08/21/2026, 21:09:16
शुक्रबार, भदौ ०५, २०८३

यातातयात व्यवस्था कार्यालयहरूमा सतर्कता केन्द्र र हेलो सरकारको संयुक्त अनुगमन


काठमाडौँ, भदौ ५ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतका राष्ट्रिय सतर्कता केन्द्र र हेलो सरकारको संयुक्त टोलीले काठमाडौँ उपत्यकाका चार वटा यातायात व्यवस्था कार्यालयमा आकस्मिक अनुगमन गरेको छ। हेलो सरकारमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी गुनासो बढेपछि टोलीले कलङ्की, चाबहिल, राधेराधे र एकान्तकुनास्थित कार्यालयमा पुगेर सेवा प्रवाह र प्राविधिक समस्याबारे जानकारी लिएको हो।

अनुगमनका क्रममा सेवाग्राहीको आवेदन स्वीकृतिको स्थिति, राष्ट्रिय परिचयपत्र (NID) प्रमाणीकरण नभएकाहरूको ‘म्यानुअल‘ छपाइ व्यवस्था, तथा मन्त्रिस्तरीय निर्णय अनुसार ड्राइभिङ रजिस्ट्रेसन कार्यान्वयन भए/नभएको अध्ययन गरिएको थियो। केही कार्यालयले लिखित र ट्रायल परीक्षाको पूर्व सूचना तथा कार्यतालिका नियमानुसार १५ दिनअघि सार्वजनिक नगरेको पाइएकाले त्यसलाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिइएको छ।

यस्तै, सूचना प्रविधिमा अभ्यस्त नभएका र असहाय सेवाग्राहीबाट बाहिरका बिचौलियाले फाराम भर्ने नाममा रकम असुल गरेको गुनासोलाई सम्बोधन गर्दै कार्यालय परिसरभित्रै निःशुल्क सहायता कक्ष (हेल्प डेस्क) स्थापना गर्न निर्देशन दिइएको छ। हेलो सरकारका उपसचिव कृष्ण सापकोटाका अनुसार सम्बन्धित कार्यालयहरूले आगामी सात दिनभित्र उक्त सहायता केन्द्र सञ्चालनमा ल्याउनुपर्नेछ।