08/21/2026, 21:15:11
शुक्रबार, भदौ ०५, २०८३

गाँजाको औषधीय प्रयोगमा अर्थ मन्त्रालय सहजीकरण गर्न तयार: अर्थमन्त्री डा. वाग्ले


काठमाडौँ, भदौ ५ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा उत्पादन तथा बजारीकरणमा अर्थ मन्त्रालय सहजीकरण गर्न तयार रहेको बताउनुभएको छ। राष्ट्रियसभा बैठकमा सांसद विष्णुकुमारी सापकोटाको प्रश्नको जवाफ दिँदै उहाँले गाँजालाई आय, रोजगारी र सम्भावित राजस्वको माध्यम मात्र नभई नियन्त्रित औषधिजन्य वस्तुका रूपमा हेर्नुपर्ने र आवश्यक कानुनी व्यवस्थापछि मन्त्रालयले सहयोग गर्ने स्पष्ट पार्नुभयो।

नेपालले गाँजा खेतीको सम्भावनालाई सकारात्मक रूपमा अध्ययन गर्नुपर्ने उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले गृह मन्त्रालयसँग आवश्यक समन्वय गरी थप अध्ययन र कानुनी प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाउनुभयो। कानुनबमोजिम व्यवस्थित गर्न सकिएमा यसले औद्योगिक प्रवर्द्धन, रोजगारी सिर्जना र सरकारी राजस्व वृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ थियो।

यसैगरी, सांसद भुवनबहादुर सुनारको प्रश्नको उत्तर दिँदै अर्थमन्त्रीले आर्थिक वर्ष २०८३/८४ मा भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालय अन्तर्गत नीति-नियम र कार्यविधि तर्जुमाका लागि सात लाख विनियोजन गरिएको जानकारी दिनुभयो। आवश्यकता अनुसार औचित्यका आधारमा थप बजेट उपलब्ध गराउन अर्थ मन्त्रालय सकारात्मक रहेको उहाँले आश्वासन दिनुभयो।