08/15/2026, 12:21:53
शनिबार, साउन ३०, २०८३

११ करोड ७६ लाख नाघ्यो मुक्तिनाथ मन्दिरमा चढाएको भेटी


मुस्ताङ, साउन ३० गते । प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा भक्तजनले चढाएको भेटी तथा आम्दानीको मौज्दात रकम पौने १२ करोड रुपियाँ पुगेको छ।

मुक्तिनाथ विकास समितिका अनुसार गत असार मसान्तसम्ममा मन्दिरको विभिन्न पाँच वटा वाणिज्य बैंकहरूमा सञ्चय गरिएको खातामा कुल ११ करोड ७६ लाख ३३ हजार रुपियाँ मौज्दात रहेको छ। मन्दिरमा देश तथा विदेशबाट आउने लाखौँ दर्शनार्थीहरूले श्रद्धापूर्वक चढाएको भेटीका कारण यो आम्दानी सञ्चित भएको हो।

विकास समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार सबैभन्दा बढी रकम कृषि विकास बैंकमा ७ करोड १६ लाख ३२ हजार रुपियाँ मौज्दात रहेको छ। त्यसैगरी सांग्रिला डेभलपमेन्ट बैंकमा ३ करोड ९२ लाख ९५ हजार, प्रभु बैंकमा ५५ लाख ६४ हजार, नेपाल बैंकमा ११ लाख २३ हजार र माछापुच्छ्रे बैंकमा १७ हजार ५ सय रुपियाँ मौज्दात रहेको छ। धार्मिक पर्यटनको प्रमुख केन्द्रका रूपमा रहेको मुक्तिनाथमा पछिल्ला वर्षहरूमा भक्तजनको उपस्थिति बढेसँगै मन्दिरको भेटी र आम्दानीमा पनि वृद्धि हुँदै गएको छ।