१८ मिनेट अगाडी


मिति २०८३ साल श्रावण १७ गते आइतबार, मलङ्गवा/वीरगन्ज । आन्दोलनका कारण केही दिन ठप्प रहेको मधेश प्रदेशको यातायात सेवा क्रमिक रूपमा सुचारु हुन थालेको छ। सर्लाहीसहित मधेशका विभिन्न जिल्लाहरूमा शनिबारदेखि लामो दूरीका सवारी साधन सञ्चालनमा आएपछि यात्रुहरूलाई राहत मिलेको छ।
यस क्षेत्रमा बिहीबार र शुक्रबार लामो दूरीमा चल्ने सार्वजनिक यातायात पूर्ण रूपमा बन्द रहँदा अत्यावश्यक कामले यात्रा गर्नुपर्ने सर्वसाधारण मारमा परेका थिए। तर शनिबारदेखि लामो दूरीका बसहरू सञ्चालनमा आएपछि जनजीवन सहज बन्दै गएको हो।
हाल पूर्वका सिराहा, सप्तरी, सुनसरी र विराटनगरतर्फ जाने लामो दूरीका ठूला बसहरू पूर्ण रूपमा खुल्न बाँकी नै छन्। तथापि, ती क्षेत्रमा हायस र विङ्गर जस्ता साना सवारी साधनले फाट्टफुट्ट यात्रु ओसारपसार गरिरहेका छन्। सर्लाहीका बस व्यवसायी दीपलाल महतोका अनुसार वीरगन्ज, बर्दिवास र जनकपुरतर्फका बस निर्वाध गुड्न थालेका छन्। ढल्केबरदेखि पूर्वतर्फ पनि अवस्था सुध्रदै गएकाले चाँडै पूर्ण सञ्चालनमा आउने तयारी रहेको उनले बताए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवं प्रहरी निरीक्षक झलक शर्माले शनिबारदेखि महेन्द्र राजमार्ग र अन्य भित्री सडकहरूमा सवारीको चाप बढ्न थालेको जानकारी दिए। स्थानीय रुटमा चल्ने टेम्पो, म्याजिक, जीप र बोलेरो भने नियमित रूपमा नै सञ्चालनमा रहेका छन्।
राजधानी काठमाडौंसम्मका सवारी साधन पनि निर्वाध रूपमा आउजाउ गरिरहेका छन्। लालबन्दीस्थित रात्रि बस काउन्टर सञ्चालक विजय लामाले नाइट बस सञ्चालनमा कुनै समस्या नरहेको र शनिबारदेखि टिकट काट्न समेत सुरु गरिएको बताए।
यातायात सुचारु हुँदै जाँदा मधेशका बजारहरू पनि खुल्न थालेका छन्। सर्लाहीमा शुक्रबारको प्रदर्शनका कारण बन्द भएका बरहथवा, बयलवास र मलङ्गवा बजार शनिबारदेखि खुलेका हुन्। प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले जनजीवन क्रमिक रूपमा सामान्यतर्फ उन्मुख भएको जानकारी दिए।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





















