07/30/2026, 17:00:57
बिहिबार, साउन १४, २०८३

सिरहाको गोलबजार र जनकपुरधाममा कर्फ्यु : झडप र आगजनीपछि प्रहरीको गोली, २ जना घाइते


सिरहा/जनकपुरधाम । सुनसरीमा भएको समुदायबीचको झडपको असर सिरहा र धनुषा जिल्लामा पनि परेको छ । जिल्लाको पछिल्लो अशान्त सुरक्षा स्थितिलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले सिरहाको गोलबजार र धनुषाको जनकपुरधाम तथा आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । झडप र आगजनीको घटना बढेपछि प्रहरीले गोली चलाएको छ भने झडपमा २ जना गम्भीर घाइते भएका छन् ।

गोलबजारमा कर्फ्यु
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णयअनुसार गोलबजार नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार पूर्व-पश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका वडा नं. ३ स्थित कसहिया खोलादेखि पश्चिमतर्फ वडा नं. ८ को चोहर्वा चोक, उत्तरतर्फ वडा नं. ४ को क्याम्पस चोक र दक्षिणतर्फ वडा नं. ६ को बस्ती क्षेत्रसम्म कर्फ्यु लागू गरिएको छ ।

बिहीबार साउन १४ गते दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि यो कर्फ्यु कायम रहने प्रजिअ पौडेलले जानकारी दिनुभयो ।

जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु
यसैगरी, जिल्ला प्रशासन कार्यालय धनुषाले पनि सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जनकपुरधाम तथा आसपासका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । जनकपुरधाममा बिहीबार बिहानैदेखि प्रदर्शनकारी सक्रिय भएपछि प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले दिउँसो ३:३० बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गर्नुभएको हो ।

यस आदेशअनुसार उत्तरतर्फ लक्ष्मीनिया हाटबजार चोक हुँदै सिनुरजोडा चोकसम्म, पूर्वतर्फ बेलौनी रोडस्थित एम.क्यु. स्टिल क्षेत्रदेखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म, दक्षिणतर्फ नगराइन नगरपालिकाको नगराइन चोकसम्म तथा पश्चिमतर्फ सिनुरजोडा, सोहनी, मणिमण्डप, नेपाल नर्सरी, इस्कोन जनकपुर, दुधमती पुल, बेला र कादरी मस्जिद आसपासका क्षेत्र समेटिएका छन् । तोकिएको क्षेत्रभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।

झडप, आगजनी र प्रहरीको गोली
सिरहामा दुई पक्षबीच झडप हुँदा २ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि स्थानीय अस्पताल पुर्याइएको छ । कर्फ्यु आदेश जारी भए पनि प्रदर्शन जारी रहेको थियो । आगजनी र तोडफोड हुन थालेपछि परिस्थिति नियन्त्रण गर्न प्रहरीले गोली चलाएको हो ।

प्रदर्शनका क्रममा केहीबेरअघि प्रदर्शनकारीले एउटा मोटरसाइकल ग्यारेजबाट मोटरसाइकल निकालेर आगजनी गरेका थिए । आगजनीका कारण ११ वटा मोटरसाइकल नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रशासनले कर्फ्युको बर्खिलाप वा अवज्ञा हुने गरी कुनै गतिविधि गरिएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ । साथै, जिल्लाको समग्र शान्ति-सुव्यवस्थालाई सामान्यीकरण गर्नका लागि सहयोग पुर्‍याउन स्थानीय प्रशासनले सबै पक्षसँग आग्रहसमेत गरेको छ ।