

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रभु बैङ्कका प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मि पन्तलाई पक्राउ गरेको छ । बैङ्किङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा सिआइबीले पन्तलाई पक्राउ गरी सोधपुछ सुरु गरेको हो ।
सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराले बैङ्किङ कसुर अन्तर्गत केही वित्तीय कारोबार, निर्णय प्रक्रिया तथा व्यवस्थापकीय स्वीकृतिसम्बन्धी विषयमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
४८ करोड कर्जा दुरुपयोग प्रकरण
बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत कर्जा दुरुपयोग गरेको आरोपमा सिआइबीको हिरासतमा रहेका एसियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष शशिधर शर्मामाथिको अनुसन्धानका क्रममा पन्तको संलग्नता देखिएपछि उहाँलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ ।
नेपाल राष्ट्र बैङ्क, बैङ्क सुपरिवेक्षण विभागले २०८३ असारमा तयार गरेको विशेष स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा यो अनुसन्धान अघि बढाइएको हो । प्रतिवेदन अनुसार एसियन भिलेज रिसोर्ट प्रालिले रिसोर्ट निर्माण तथा जग्गा खरिदका लागि प्रभु बैङ्कबाट ४८ करोड रुपियाँ कर्जा लिएको थियो ।
उक्त कर्जाका लागि बैङ्कका नाममा जग्गा दृष्टिबन्धक नगरी पछि गर्ने भन्ने कबुलियतनामाका आधारमा रकम निकासा गरिएको थियो । तर, त्यसपछि उक्त रकम तोकिएको प्रयोजनमा प्रयोग नगरी कम्पनीका अध्यक्षका पारिवारिक सम्बन्ध भएका व्यक्ति तथा आफ्नै समूहका अन्य ऋणी कम्पनीको बक्यौता तिर्न प्रयोग गरिएको आरोप छ । राष्ट्र बैङ्कले यसलाई कर्जा दुरुपयोगसम्बन्धी कसुर ठहर गर्दै सिआइबीलाई पत्राचार गरेको थियो । सोही आधारमा उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएर असार ३० गते शर्मालाई पक्राउ गरिएको थियो ।
पूर्वअध्यक्ष भट्टचन र सिइओ शेरचनमाथि एक अर्ब हिनामिनाको आरोप
कर्जा दुरुपयोग प्रकरणले प्रभु बैङ्कको नेतृत्वकै संलग्नतालाई देखाएको छ । सिआइबीले प्रभु बैङ्कका सञ्चालकदेखि प्रमुख कार्यकारी अधिकृत (सिइओ) सम्मको नेतृत्वमाथि अनुसन्धान अघि बढाएको छ ।
सिआइबीले गत कात्तिक २२ गते प्रभु बैङ्कको प्रमुख कार्यालय बिजुलीबजारमा छापा मारी महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो । त्यसपछि प्रभु समूहका तत्कालीन अध्यक्ष देवीप्रकाश भट्टचन, सिइओ अशोक शेरचन, नायब सिइओ मणिराम पोखरेलसहितका उच्च पदस्थ अधिकारीलाई नियन्त्रणमा लिइएको थियो ।
प्रभु समूहका पूर्वअध्यक्ष भट्टचनमाथि प्रभु म्यानेजमेन्ट कम्पनीको ९८ करोड रुपियाँभन्दा बढी रकम हिनामिना गरेको आरोप लागेको छ । प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाको उजुरीपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रारम्भिक अनुसन्धानबाट प्रभु म्यानेजमेन्ट प्रालिमार्फत करिब एक अर्ब रुपियाँ हिनामिना भएको खुलेको छ । विसं २०६९ मङ्सिरदेखि २०८१ जेठसम्म अध्यक्ष भट्टचन र सिइओ शेरचनको संलग्नतामा झन्डै तीन हजार सहकारी संस्थालाई मनी ट्रान्सफरका ‘सुपर एजेन्ट’ खडा गरी धरौटीबापतको रकम उठाएर हिनामिना गरेको पाइएको सिआइबीको भनाइ छ ।
प्रभु समूहसँग सम्बन्धित यस आर्थिक हिनामिना प्रकरणमा सिआइबीले अनुसन्धानलाई थप तीव्रता दिएको छ ।
यसैगरी, हुण्डी र वैदेशिक रोजगार ठगीमा ५ जना पक्राउ
प्रहरीले हुण्डी सम्बन्धी कारोबारमा संलग्न रहेको अभियोगमा नागार्जुन नगरपालिका-८ बस्ने धादिङ घर भएका ४९ वर्षीय राजेन्द्र प्रसाद रिजाललाई मंगलबार पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले उनलाई नागार्जुन नगरपालिका-८ राधाकृष्ण मन्दिर क्षेत्रबाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा व्यक्तिगत खाता प्रयोग गरी १ अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४ सय ५४ रुपैयाँ बराबरको रकम हुण्डीको माध्यमबाट कारोबार गरेको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यसैगरी, काठमाडौंमा वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका-६ बस्ने सिन्धुली घर भएका ४६ वर्षीय गणेश बहादुर कार्की, काठमाडौं नागार्जुन नगरपालिका-४ बस्ने दाङ घर भएका ४७ वर्षीय झगे विक, काठमाडौं महानगरपालिका-१६ बस्ने चितवन घर भएका ३४ वर्षीय कमल श्रेष्ठ र काठमाडौं महानगरपालिका-७ बस्ने ६१ वर्षीया शारदा श्रेष्ठ रहेका छन् ।
पक्राउ मध्ये गणेश बहादुरले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रुपैयाँ, झगेले युरोप पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३० लाख रुपैयाँ, कमलले अजरबैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रुपैयाँ र शारदाले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गणेश बहादुरलाई काठमाडौं महानगरपालिका-६ बाट र झगेलाई काठमाडौं महानगरपालिका-२१ बाट सोमबार तथा कमललाई काठमाडौं महानगरपालिका-१६ बाट र शारदालाई काठमाडौं महानगरपालिका-७ बाट मंगलबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




































